वीरगञ्ज / बाराको कलैया उपमहानगरपालिका–६ निवासी बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश स्वर्णकारलाई गोली हान्ने चारजना मुख्य सुटरहरुले यसअघि पनि बारामै एक जनाको हत्या गरेको खुलेको छ। स्वर्णकारलाई गोली प्रहार गर्ने चार जना भारतीय सुटरहरुले यसअघि गत असोज ९ मा आफ्नै ग्याङका साथीको हत्या गरेका थिए।
स्वर्णकालाई गत सोमबार दिउँसो गोली प्रहार गर्ने सुटरहरु भारतको मोतिहारीका २५ वर्षीय सुजित कुमार सिंह, सोही स्थानका २४ वर्षीय चन्चल पाण्डे, २२ वर्षीय मनिष कुमार सहनी र २० वर्षीय कामेश्वर सहनीले गत असोजमा बारामा आफ्नै ग्याङका अजितकुमार सिंहको गोली हानि हत्या गरेका थिए।
प्रहरीका अनुसार उनीहरुकै ग्याङका सदस्य रहेका अजितलाई उनीहरुले भारतबाट मोटरसाइकलमा बसाएर नेपाल–भारत सीमाभन्दा करिब ७०० मिटर नेपालतर्फ बाराको पचरौता नगरपालिका–६ लक्ष्मिनियास्थित पोखरीनजिकै टाउकोमा गोली प्रहार गरी हत्या गरेका थिए।
प्रहरीका अनुसार अजितकी श्रीमतीसँग सुजितको अवैध प्रेम सम्बन्ध थियो। उनीहरुले भारतको विभिन्न स्थानमा लुटपाट गरेको रकममा भागवण्डाको रकम दिन नपर्ने र अजितको श्रमिती पनि आफ्नो हुने भनेर चारैजनाले अजितकी पत्नी सोनमको योजनामा भारतबाट नेपालमा ल्याएर हत्या गरेका थिए।
हत्यामा संलग्न रहेका चारैजना सुटरहरु त्यतिबेला पनि फरार भएका थिए। योजनाकार अजितकी पत्नी सोनमलाई भने प्रहरीले पक्राउ गरेको थियो। गत असोज ९ गते भारतबाट नेपालमा ल्याइ आफ्नै साथीको हत्या गरेर फरार भएका चारैजनाले अहिले फेरि कलैयाका स्वर्णकारलाई गोली हानी फरार भएका छन्।
स्वर्णकारलाई गोली हान्ने चारैजना मुख्य सुटरहरु हालसम्म फरार रहेको बारा प्रहरीले जानकारी दिएको छ। उनीहरुको खोजी कार्य तथा स्वर्णकारको हत्याको घटनाको सम्बन्धमा अनुसनधान भइरहेको बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताएका छन्।
स्वर्णकारको हत्यामा संलग्न रहेको आरोपमा योजनाकार उनकी प्रेमिका कलैया–६ मदरसा टोल बस्ने २२ वर्षीया राधा गुप्ता, सहयोगी तथा सूचना आदानप्रदान गर्ने सोही स्थानका ३४ वर्षीय जमिल अख्तर र वडा नम्बर ९ रामपुर बस्ने २६ वर्षीय रियाज अन्सारीलाई बारा प्रहरीले पक्राउ गरिसकेको छ।


