खजुरा । बाँके जिल्ला अदालतले रिगल योगराज ढकाल भनिने लाई शुक्रबार जिल्ला कारागार कार्यालय नेपालगञ्ज चलान गरेको छ ।
रिगललाई सर्वोच्च अदालतले आदेश गरेको उनको बाँकी रहेको ११ वर्ष ११ महिना ५ दिनको कैद सजाय भुक्तान गर्नका लागि शुक्रबार कारागार कार्यालय नेपालगञ्ज पठाइएको बाँके जिल्ला अदालतका श्रेस्तेदार सरोजनिधि वाग्लेले जानकारी दिनुभयो । बाँके प्रहरीले रिगललाई आज बिहान ११ बजेतिर बाँके जिल्ला अदालतमा पेश गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नारायण डाँगीले रिगललाई आज बिहान ११ बजेतिर बाँके जिल्ला अदालतमा पेश गरेको जानकारी दिनुभयो । बिहीबार नेपालगञ्जको सेतु विक चोकबाट पक्राउ परेका रिगललाई प्रहरीले एक दिन जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखेर आज ११ बजे बाँके जिल्ला अदालतमा बुझाएको हो । यसअघि जन्मकैद सजाय पाएका ढकाल रिगललाई आममाफी दिने सरकारको निर्णय बदर गर्न सर्वोच्च अदालतले बिहीबार आदेश दिएको थियो ।
आदेशलगत्तै रिगललाई पक्राउ गरिएको हो । रिगलका सहयोगीले उहाँले प्रहरीमा आत्मसमर्पण गरेको दाबी गरेका छन् । नेपालगञ्जकै चेतन मानन्धरको हत्या अभियोगमा सजाय पाएका ढकाललाई संविधान दिवसका अवसरमा गत असोज ३ मा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट कैद मिनाहा भएको थियो ।
घटनाको समय रिगल नेपाल तरुण दल क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापति रहनुभएको थियो । अदालतले कर्तव्य ज्यान मुद्दामा ठहर भएको जन्मकैदमध्ये ११ वर्ष ११ महिना पाँच दिन कैद निजलाई कारागारमा राखी कानुनबमोजिम असुल गर्नु भनी परमादेश दिएको छ ।