रौतहट । रौतहटको सदरमुकाम गौरमा भारतबाट भन्सार छलेर ल्याउँदै गरेको गहुँसहित गाडी र मानिसलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।
चालकसहित गाडी र भन्सार छलेको गहुँ प्रहरीको नियन्त्रणमा गौर नगरपालिका–७ स्थित प्रदेश २–०३–००१ च. २१३८ नम्बरको पिकअप गाडी रोकी जाँच गर्ने क्रममा भारतबाट भन्सार छलेर ल्याइएका १३९ बोरा गहुँ फेला पारेको जिल्ला प्रहरी गौरका डीएसपी दामोदर केसीले जानकारी दिए ।
उनका अनुसार १ बोरामा २० किलोको दरले प्याक गरेर भारतबाट नेपाल भित्र्याइएको हो ।
गहुँसहित पक्राउ परेका गाडी चालक गौर-७ घर भएका ४४ वर्षीय वीरेन्द्रराय यादवमाथि प्रहरीले अनुसन्धान थालेको छ । उक्त गहुँको मूल्य २४ लाख १७ हजार मूल्यांकन गरी आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालय बुझाएको डीएसपी केसीले बताए ।