काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले शान्ति प्रक्रिया टुंग्याउन सरकारले नै बिलम्ब गरेको, तर दोष प्रतिपक्षलाई लगाइरहेको आरोप लगाएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले शान्ति प्रक्रियाको बाँकी काम अबिलम्ब टुंग्याउनुपर्छ भन्नेमा एमाले प्रष्ट रहेको बताए । ‘ढिलो सत्तापक्षले गर्छ आरोप प्रतिपक्षलाई लगाउँछ ।
म सत्तापक्षलाई भन्न चाहन्छु, सरकारलाई भन्न चाहन्छु, पीडितले न्याय पाउनुपर्छ भन्ने मान्यतामा केन्द्रित भएर, नेपालको अदालतको आदेश मानेर र मानव अधिकारको अन्तर्राष्ट्रिय मान्यता पालन गरेर शान्ति प्रक्रिया टुंग्याउनुपर्छ’, उनले भने, ‘म सत्तापक्षलाई सोध्न चाहन्छु त्यसका लागि के ले रोकेको छ ?’ सरकार आफैंले शान्ति प्रक्रिया टुंग्याउन नचाहेको तर प्रतिपक्षीमाथि अनुचित आरोप लगाएको उपाध्यक्ष पौडेलले बताए ।
‘शान्ति प्रक्रिया छिटो टुंग्याउन चाहनेले फागुन १ गते बिदा दिएर शान्तिको वातावरण बिथोल्दैन’, उनले भने ।