काठमाडौं । सरकारको केन्द्रीय संयु्क्त बजार अनुगमन समितिले तिहारलाई लक्षित गरेर बजार अनुगमन सुरु गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग नेतृत्वको संयुक्त बजार अनुगमन समितिले आइतबारदेखि तिहारलक्षित बजार अनुगमन सुरु गरेको हो । विभागका महानिर्देशक तीर्थराज चिलवालले तिहारमा बढी खपत हुने मिठाई, विद्युतीय सामान, भाँडाकुँडा र भाइमसलामा केन्द्रित गरेर बजार अनुगमन सुरु गरेको जानकारी दिनुभयो ।
उहाँका अनुसार खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य प्राविधिकसमेतको संयुक्त बजार अनुगमन समितिले मङ्गलबार काठमाडौँ थापाथलीको मिठाई पसलले मिठाई उत्पादन गर्दा मूल्य र नापतौलमा ठगेको भेटिएपछि दुई लाख रुपियाँ जरिबाना गरेको छ ।
विभाग नेतृत्वको अनुगमन टोलीले तिहारमा बढी खपत र माग हुने मिठाईको अनुगमन गर्ने क्रममा उक्त पसलमा बाहिर देख्दा सुन्दर र आकर्षक सजावट गरिए पनि मिठाई गुणस्तरहीन र दुर्गन्धित रहेको पाइएपछि जरिबाना गरिएको महानिर्देशक चिलवालले जानकारी दिनुभयो । उहाँले यही आइतबारदेखि सार्वजनिक बिदाका दिनमा समेत १२ वटा टोलीले नियमित रूपमा चाडपर्वलक्षित बजार अनुगमन गरिररहेको जानकारी दिनुभयो । यस्तो अनुगमन नयाँ नभएर विगतकै निरन्तरता हो । त्यसैले पनि यसको उपलब्धि देखिँदैन । उपभोक्ता अधिकारकर्मीले अनुगमनकर्मकाण्डी र बजेट सकाउने मात्रै भएको आरोप लगाउँदै आएका छन् ।
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले सरकारको संयुक्त बजार अनुगमनको उद्देश्य राम्रो भए पनि अहिलेको बजार अनुगमन बजेट सकाउनेबाहेक केही नभएको आरोप लगाउनुभयो ।
अनुगमनको नेतृत्व गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनमा आमउपभोक्ताको अपेक्षा अनुसार नभए पनि विगतको तुलनामा सुधार भएको दाबी गरेको छ । विभागका महानिर्देशक चिलवालले स्वयम् उपभोक्ता सचेत नभएसम्म बजार अनुगमनले मात्रै बजार आमउपभोक्ताले चाहे जस्तो सुधार गर्न नसकिने बताउनुभयो । बजार अनुगमन उपत्यकामा केन्द्रित रहेको छ । सरकारको संयुक्त बजार अनुगमनको १३ वटा टोलीले उपत्यकामा नै केन्द्रित गरेर अनुगमन गर्दै आएका छन् । गाेरखापत्र