काठमाडाैं । सत्य निरूपण तथा बेपत्ता पारिएका व्यक्तिहरूसम्बन्धी विधेयकमा देखिएका असमझदारी हटाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ।
बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विधेयकमा देखिएका केही असहमतिको टुंगो लगाउने विषयमा कुराकानी भएको र आफूहरूबीच एउटा समझदारी बनेको प्रधानमन्त्री प्रचण्डले बताए। च्यासलमा एमालेले गरेको चियापानमा सहभागी भएपछि पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले संक्रमणकालीन न्यायसम्बन्धी कानुन छिट्टै समझदारीमा टुंगिने बताए। ‘सर्वोच्च अदालतको फैसला,अन्तर्राष्ट्रिय मापदण्ड र पीडित केन्द्रित बनाएरै कानुनको मस्यौदा तयार गरेका छौं। उहाँहरूले पनि (संयुक्त राष्ट्रसंघका महाचिव एन्टोनी गुटेरेस) पूरै समर्थन रहने बताउनुभएको छ,’ प्रचण्डले भने, ‘आज बिहान मात्रै हामी नेपाली कांग्रेसका सभापति, एमाले अध्यक्ष र म बसेका थियौं, एउटा समझदारी बनेको छ।’
उनले संयुक्त राष्ट्रसंघका महासचिवसँगको भेटमा नेपालको शान्ति प्रक्रियाबारे दलका नेताहरूको छुट्टाछुट्टै धारणा आउनु दुर्भाग्यपूर्ण भएको र त्यही विषयमा समझदारी खोज्न आफूले बिहान छलफलको आयोजना गरेको बताए।
गत आइतबार गुटेरेससँगको भेटमा एमाले अध्यक्ष ओलीले प्रचण्डकै कारण शान्ति प्रक्रिया निष्कर्षमा पुग्न नसकेको बताएका थिए।