काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले नेपालमा उत्पादित सुपारी निर्यात गर्न कानूनी रुपमा प्रतिबन्ध नगरेको स्पष्ट पारेका छन्।
बुधबार प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्दै सचिव निरौलाले यस्तो बताएका हुन्। उनले नेपालमा उत्पादित सुपारी भारतलगायतका देशमा निर्यात गर्दा सुपारीको डिइनए परीक्षण गरेर मात्रै निर्यात गर्न राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको निर्देशन भएकाले निर्यात हुन नसकेको बताए।
उनले समितिको निर्देशनअनुसार उद्योग मन्त्रालयले अर्थ मन्त्रालयमार्फत भन्सार विभागलाई डिएनए परीक्षण भएको सुपारी मात्रै निर्यात गर्न निर्देशन दिएको भन्दै अन्य कुनै कानूनले निर्यातमा प्रतिबन्ध नलगाएको बताए।
उनले नेपालमा नै उत्पादित सुपारीको डिएनए परीक्षण गर्ने कुनै मापदण्ड वा निर्देशिका स्पष्ट नहुँदा मन्त्रालयले नेपाल उद्योग वाणिज्य महासंघलाई सिफारिस गर्न समेत नसकेको उल्लेख गरे।
उनले समितिबाट नेपालमा नै उत्पादित सुपारीको उत्पत्ति प्रमाणपत्र जारी गरी निर्यात गर्न निर्देशन भए मन्त्रालय तत्काल सिफारिस गर्न तयार रहेको बताए। उनले सुपारीलाई बाहिर निर्यात गर्न अन्य वस्तुजस्तै दिने वा के गर्ने भन्ने विषयमा छलफल बहस आवश्यक रहेको बताए।