मोरङ । कोसी प्रदेशमा एक प्रदेश सभासदस्य रहेको जनता समाजवादी पार्टी(जसपा)ले सरकारलाई बाहिरिबाट मात्र समर्थन गर्ने निर्णय गरेको छ।
सुसनरीको इटहरीमा सम्पन्न प्रदेश कमिटीको कार्यकारिणी समिति बैठकले तत्काल सरकारमा सहभागिता नजाएपनि समर्थन भने कायम राख्ने निर्णय गरेको हो।
जसपाकी प्रदेश सभासदस्य तथा पूर्व स्वास्थ्य मन्त्री निर्मला लिम्बूले तत्काल सरकारमा सहभागी नहुने प्रस्ट्याइन्। अहिलेको सरकारमा जान सकिने अवस्था नदेखिएको बताएकी पूर्वमन्त्री लिम्बूले भनिन्,’अहिले हामीले सरकारमा जाने अवस्था देखिरहेका छैनौँ। मुख्यमन्त्री ज्यूले सानो दललाई कसरी लिनुभएको छ। हेर्दै जाऔँ। तत्काल सरकारमा सहभागी नहुनेको अर्थ जाँदै नजाने पनि होइन्।’, उनले भनिन्,’समय र परिस्थिती कस्तो बन्छ। पर्खिएको हौँ। सरकारमा सहभागी हुने वातावरण कतिसम्म दिनसक्नुहुन्छ। हेरौँ। सानो दल भनेर वाइपास गर्दै सरकार गठन गर्ने सोच देखिएको छ। त्यसैले तत्काल जसपा सरकारबाहिर नै बस्ने भएको हो।’
एमाले सुरुमा कांग्रेसका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिएपछि मात्र गठबन्धनमा रहेको दल जसपाले साथ दिएको थियो। त्यसैगरी, प्रदेशको नामाकरण परिवर्तनको विषयमा मुख्यमन्त्री कार्की सकारात्मक रहेको अपेक्षा गरेकी प्रदेश सभासदस्य लिम्बूले भनिन्, ‘प्रदेशको नामाकरण परिवर्तनमा मुख्यमन्त्री ज्यू सकारात्मक हुनुहुन्छ भन्ने छ। हामी कोसी प्रदेश नामको विपक्षमा छौँ।’