काठमाडौं । सन् २०२६ सम्ममा नेपाल अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुँदै गर्दा अमेरिकी सरकारले नेपालको स्तरोन्नतिलाई सघाउ पुग्ने गरी थप सहयोग तथा साझेदारी गर्ने प्रतिबद्धता जनाएको छ ।
अमेरिका भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री नारायणप्रकाश साउदमार्फत अमेरिकी सरकारले नेपाल अमेरिकाको पुरानो र अभिन्न मित्र रहेको सन्देश दिँदै नेपालको विकास समृद्धिमा अमेरिकाको साथ र सहयोग सदैव रहने प्रतिबद्धता जनाएको हो ।
मन्त्री साउद र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनबिच न्युयोर्कमा द्विपक्षीय साझेदारी र विकास सहकार्यमा गहन छलफलसहितको भेटवार्ता भयो । भेटवार्ता नेपालको भावी विकासका लागि फलदायी भएको मन्त्री साउदले बताउनुभयो ।
अमेरिकाको विदेश मन्त्रालयमा मङ्गलबार भएको भेटमा द्विपक्षीय हितका विषय, साझा चासोका क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाका साथै दुई देशबिच भविष्यमा सम्भावित साझेदारीका सवालमा गहन छलफल भयो । वार्तामा नेपाल र अमेरिकाका विदेशमन्त्रीले नेपाल र अमेरिकाबिचको द्विपक्षीय सम्बन्धको वर्तमान अवस्थाप्रति सन्तुष्टि व्यक्त गर्दै सो सम्बन्धलाई थप प्रगाढ बनाउन पारस्परिक हितका क्षेत्रमा आपसी संलग्नतालाई विस्तार र गहिरो बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
परराष्ट्रमन्त्री साउदले नेपाल अतिकम विकसित मुलुकबाट सन् २०२६ सम्ममा स्तरोन्नतिका लागि अगाडि बढेको सन्दर्भमा विकासका प्राथमिकताबारे अमेरिकाका विदेशमन्त्री ब्लिन्केनलाई अवगत गराउनुभयो । त्यसका लागि व्यापार तथा लगानी, बजारको पहुँच, खाद्य सुरक्षा र सूचना प्रविधिलगायतका क्षेत्रमा अमेरिकाबाट थप सहयोगको अपेक्षासमेत गर्नुभयो । उहाँले नेपालबाट नयाँ निर्यातयोग्य वस्तु थप गर्दै नेपालको व्यापार प्राथमिकता कार्यक्रम र प्राथमिकताका आधारमा सामान्यकृत प्रणाली (जिएसपी) सुविधाका लागि अनुमति दिँदै त्यसको विस्तार गर्न अमेरिकी सरकारसँग आग्रह गर्नुभयो ।
मन्त्री साउदले अमेरिकी सरकारको अन्तर्राष्ट्रिय सहयोग (युएसएआइडी) र मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) मार्फत नेपालको सामाजिक, आर्थिक विकासमा निरन्तर सहयोग जारी राखेकोमा विदेशमन्त्री ब्लिन्केनमार्फत अमेरिकी सरकारलाई धन्यवाद दिनुभयो । दुवै विदेशमन्त्रीले एमसिसी अन्तर्गतका आयोजनाको समयमै कार्यान्वयनको आवश्यकतामा जोड दिएको न्युयोर्कस्थित नेपाली दूतावासले जनाएको छ ।
प्रजातान्त्रिक शासनको सुदृढीकरणमा नेपालको प्रगतिको प्रशंसा गर्दै अमेरिकाका विदेशमन्त्री ब्लिन्केनले अमेरिकाले नेपाललाई बलियो र समृद्ध लोकतान्त्रिक मुलुकका रूपमा हेर्न चाहेको बताउनुभयो । उहाँले परराष्ट्रमन्त्री साउदलाई नेपालको विकास प्रयासमा अमेरिकाले आगामी दिनमा निरन्तर सहयोग जारी राख्ने आश्वासन दिनुभयो ।
क्षेत्रीय र बहुपक्षीय मञ्चमा नेपाल–अमेरिका सहयोग, मध्यपूर्वको वर्तमान अवस्थालगायत क्षेत्रीय तथा विश्वव्यापी मामिलामा साझा चासोका अन्य विषयमा दुई विदेशमन्त्रीले आफ्ना धारणा आदानप्रदान गर्नुभयो । जसमा जलवायु परिवर्तन, विश्व शान्तिलगायतका मुद्दामा आपसमा सहकार्य गरेर अघि बढ्न सकिने विचार दुई विदेशमन्त्रीले आदानप्रदान गर्नुभयो ।
जिएसपी अन्तर्गतको निर्यात बढाउनुपर्ने
अमेरिकी जिएसपी कार्यक्रमले विकासशील मुलुकबाट आयात गर्ने विभिन्न वस्तुलाई अमेरिकी बजारमा भन्सारमुक्त प्रवेशमा सघाउँछ । जसले नेपाल जस्तो मुलुकमा आर्थिक मितव्ययिता गर्दै आगामी विकासका लागि अघि बढ्न र व्यापारको दायरा बढाउन सहयोग गर्दछ ।
तर, नेपालबाट निकै न्यूनस्तरमा जिएसपी अन्तर्गत वस्तु तथा सेवा अमेरिका निर्यात हुने गरेको छ । त्यसमा पनि नेपाल अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुँदा अमेरिकाबाट अति कम विकसित मुलुकका नाममा नेपाललाई गरिँदै आएका सहयोग रोकिने छन् । उता जिएसपीको दर पनि न्यून रहेकाले त्यो बढाउन सरकारले थप पहल गर्नुपर्ने आवश्यकता रहन्छ ।
विदेश मन्त्रालयको तथ्य अनुसार नेपालमा उत्पादित झन्डै पाँच हजार प्रकारका वस्तु अमेरिकामा भन्सारमुक्त प्रवेशका लागि योग्य मानिएका छन् । तीमध्ये करिब तीन हजार पाँच सय वस्तु सबै मुलुकका लागि भन्सारमुक्त छन् । बाँकी एक हजार पाँच सय वस्तु नेपाल जस्तो विकासशील र अल्पविकसित मुलुकका लागि मात्र भन्सारमुक्त छन् ।
नेपाललगायत विभिन्न मुलुकबाट अमेरिकाले हालसम्म १८.५ खर्ब डलर बराबरको आयात जिएसपी अन्तर्गत गरेको विदेश मन्त्रालयले उल्लेख गरेको छ । जसमा नेपालको ५.१ अर्ब डलरको आयात समावेश रहेको छ ।