काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघमा महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा भइरहेको बमबारीका कारण २० लाख मानिस अत्यावश्यक सेवाबाट वञ्चित भएको उल्लेख गर्दै आक्रमण तत्काल रोक्न अपिल गरेका छन् ।
काठमाडौंबाट गुटेरेसको अपिल : गाजाका २० लाख मानिस अत्यावश्यक सेवाबाट वञ्चित भए, तत्काल युद्धविराम गर’ काठमाडौंमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले इजरायल र हमासबीच भइरहेको युद्धको चित्र प्रस्तुत गर्दै युद्धविरामको आग्रह गरेका छन् ।
‘संसारले हाम्रो आँखा अगाडि मानवीय प्रकोप भइरहेको देखिरहेको छ । कतै जान सुरक्षित ठाउँ नपाएका २० लाखभन्दा बढी मानिसलाई बाँच्नका लागि आवश्यक खाना, पानी, आश्रय र चिकित्सा हेरचाहबाट वञ्चित गरिएको छ,’ महासचिव गुटेरेसले भने, ‘गाजाका मानिसहरुका लागि मानवीय सहयोगका लागि पनि युद्धविराम जरुरी छ ।’ कतार हुँदै नेपाल आएका उनले गाजा क्षेत्रको आक्रमण केही घण्टादेखि झन् भयावह बन्दै गइरहेको उल्लेख गर्दै उक्त कार्यप्रति खेद प्रकट गरेका छन् ।
‘मानवीय सहायताका लागि पनि विश्राम जरुरी छ तर इजरायलले आक्रमण गरिरहेको छ यसप्रति म खेद प्रकट गर्दछु ।’ सबै पक्षहरूले अन्तर्राष्ट्रिय मानवीय कानुनअन्तर्गत आफ्ना दायित्वहरूको सम्मान गर्नुपर्ने उनले बताए ।