काठमाडौं । नेपालले आइसिसी टी-२० विश्वकप एसिया फाइनल छनोटमा आज मलेसियासँग खेल्दैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आइसिसी टि – २० विश्वकप एसिया फाइनल छनोटको दोस्रो खेल आज दिउँसो सवा एक बजे सुरु हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।
उपाधिको प्रमुख दाबेदार नेपालले सोमबार सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो। प्रतियोगिताको सुखद सुरुवात गरेको घरेलु टोली नेपालले लगातार दोस्रो जित निकाल्ने दाउमा छ। मलेसियालाई हराउँदा नेपालको सेमिफाइनल यात्रा सहज हुनेछ।
सिंगापुरले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले कुशल भुर्तेलको अर्धशतकीय पालीको सहयोगमा १६.३ ओभरमा दुई विकेट गुमाएर जित निकालेको हो। पहिलो खेलमा आक्रामक ब्याटिङ गरेका भुर्तेलले ७४ रन बनाएका थिए। नेपालले बिहीबार ओमानसँग खेल्नेछ।
कीर्तिपुर र मूलपानी मैदानमा हुने प्रतियोगिताको समूह ‘ए’मा नेपाल, ओमान, सिंगापुर र मलेसिया छन्। यस्तै समूह ‘बी’मा हङकङ, यूएई, बहराइन र कुवेत छन्। फाइनल पुग्ने दुई टोलीले सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकामा हुने टीट्वेन्टी विश्वकप खेल्न पाउनेछ।