काठमाडौँ – टी–२० विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोटको खेलका लागि नेपालका खेलाडीलाई आकर्षक प्याकेज घोषणा गरेको अर्ना बियरको पहिलो खेलमै ६ लाख ६४ हजारको बिल उठेको छ।
उसले प्रतियोगिताअघि टी–२० विश्वकप छनोटमा नेपालका खेलाडीले बनाउने प्रत्येक रनको एक हजार र चौकाको थप १० हजार तथा छक्काको थप २० हजारका दरले रकम दिने घोषणा गरेको थियो। डट बल र विकेटमा पनि उसले नगद पुरस्कार घोषणा गरेको थियो। पहिलो दिन नेपालले सिंगापुरविरुद्ध खेल्दा कुल १२ चौका ६ छक्का प्रहार गरेको थियो।
अर्नाको पहिलो दिन घोषणाअनुसार कुल ६ लाख ६४ हजार उठेको हो। जसमा कुशल भुर्तेलले सर्वाधिक १ लाख ९४ हजार प्राप्त गर्दा आसिफ शेखले ६७ हजार पाउनेछन्। त्यस्तै रोहित पौडेलले ९५ हजार तथा कुशल मल्ले २६ हजार प्राप्त गर्नेछन्।
त्यस्तै, गुल्सन झाले ६० हजार, सोमपाल कामीले १३ हजार तथा करण केसीले ५९ हजार प्राप्त गर्नेछन्। त्यस्तै, सन्दीप लामिछानेले ६० हजार पाउँदा अभिनास बोहराले ९० हजार प्राप्त गर्नेछन्।