नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वका विकसित र शक्ति राष्ट्रहरुको खुलेर आलोचना गर्नुभएको छ ।
उहाँले ती राष्ट्रका गलत कार्यले नेपाललगायत साना र अति कमविकसित राष्ट्रहरुले भोग्नुपरेको नियतिबारे उल्लेख गर्नुभएको हो । उहाँले सगरमाथा र सो क्षेत्रको अवलोकनपछि सोलुखुम्बुमा उक्त प्रतिक्रिया जनाउनुभएको हो ।
आज बिहान खुम्जुङ पुगेर उहाँले शक्ति राष्ट्रहरुले वातावरणमा परेको असरलाई ख्याल नगर्दा नेपाललगायत निर्दोष मुलुक जलवायु परिवर्तनको मारमा परेको उल्लेख गर्नुभएको हो ।
उहाँले भन्नुभयो, ‘यस्तो असर न्यूनीकरणका लागि राष्ट्रसंघ आवश्यक सहयोग गर्न तत्पर छ ।’ खुम्जुङका स्थानीय बासिन्दासँगको छलफलपछि उहाँ जलवायु परिवर्तनको असरले हिमालय क्षेत्रमा हिउँ पग्लिएको, त्यसले हिमाली बस्तीमा हिमपहिरोको उच्च जोखिममा पारेकोमा सहमत हुनुभएको बताइन्छ ।
महासचिव आजै पोखरा जाँदै हुनुहुन्छ । उहाँले भोलि बिहान अन्नपूर्ण आधार शिविर पुगेर सो क्षेत्रको हिमाली अवस्थाबारे पनि जानकारी लिनुहुने छ ।