काठमाडौं । सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।
दशैं लगत्तैको कारोबारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासघका अनुसार शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १६ हजार रूपैयाँ कायम भएको छ ।
दशैं अघिको अन्तिम कारोबार (३ कात्तिक)का दिन छापावाल सुनको प्रतितोला मूल्य १ लाख १५ हजार ५०० रुपैयाँ थियो । दशैंपछि सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले महँगिएर नयाँ रेकर्ड बनाएको हो । शुक्रबार तेजावी सुनको प्रतितोला मूल्य १ लाख १५ हजार ४५० रूपैयाँ तोकिएको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ ।
दशैअघिको अन्तिम कारोबार (३ कात्तिक)का दिन चाँदीको प्रतितोला मूल्य १ हजार ४ सय रूपैयाँ थियो । आज पनि सोही मूल्यमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ ।