दाङ / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन पाँच बर्ष टिक्ने दाबी गरेका छन् ।
बिहीबार दिउँसो रूकुम पश्चिमको बाफिकोट गाउँपालिकामा आयोजित सहिद स्मृति खेलकुद तथा सांस्कृतिक कार्यक्रम २०८० को उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले गठबन्धन पाँच बर्ष नै टिक्ने दाबी गरेका हुन् ।
उनले भने, `यो माओवादीको एकल सरकार होइन, संयुक्त सरकार हो। तर, गठबन्धन भत्काउन, टुटाउन, तोड्न अनेकौं प्रयत्न भएका छन्। तर, उनीहरूले सक्दैनन्। म जोड दिएर भन्छु – यो गठबन्धन पाँचै वर्ष जान्छ। गठबन्धनको एकता र सहकार्यलाई कसैले तोड्नै सक्दैन। कसैले भ्रम नपाल्दा हुन्छ।´
अर्को प्रसंगमा प्रधानमन्त्रीले आफू संयुक्त राष्ट्रसंघको महासभामा जाँदा राष्ट्रसंघका महासचिवलाई नेपाल भ्रमणको निम्तो दिएको जानकारी दिँदै केही दिन भित्र महासचिव नेपाल आउने पनि बताए ।
`जलवायु परिवर्तनले नेपाललाई पारेको नकारात्मक प्रभाव आफ्नै आँखाले हेरिदिनुस् भनेको थिएँ। मेरो निम्तो स्वीकारेर उहाँ नेपाल आउँदै हुनुहुन्छ। यसले विश्वको ध्यान नेपालमा खिच्नेछ। यो नेपालका लागि महत्त्वपूर्ण अवसर हो´ उनले भने,`कतारका राजा पनि नेपाल आउँदै हुनुहुन्छ। हामीले वैदेशिक लगानीलाई व्यवस्थित गर्न उहाँलाई निमन्त्रणा गरेका छौं । कतार उदीयमान मुलुक हो। उ नेपालमा लगानी गर्न इच्छुक छ। यसका लागि हामीले सकारात्मक पहल गरेका छौं। क्रान्तिकालमा नेतृत्वलाई अप्ठ्यारो पर्दा रूकुम, रोल्पा, सल्यान, जाजरकोट जाने गर्थें। तपाईहरूले क्रान्तिको रक्षा गर्नुभयो, नीति र नेतृत्वको रक्षा गर्नुभयो। शान्ति प्रक्रियापछि पनि तपाईंहरूसँग बढी आएको छु। यो आधार इलाकाबाट उर्जा लिएर फर्किने गरेको छु। मलाई नयाँ शक्ति प्राप्त भएको अनुभूति हुन्छ ।´
आफू प्रधानमन्त्री भएपछि मिटरब्याज पीडित किसानहरूका पक्षमा कानुन बनेको उनको दाबी थियो। लाखौं मिटरब्याज पीडित जनताले न्याय पाएका, भ्रष्टाचारविरोधी अभियान नयाँ शिराबाट अगाडि बढाइएको प्रधानमन्त्री प्रचण्डले बताए ।