काठमाडाैं । नेपाल टेलिकमले दसैंको अवसर पारेर १० हजार वटासम्म मोबाइल नम्बरमा सस्तो प्याकेजमा एसएमएस पठाउन सकिने सुविधा दिएको छ।
टेलिकमले सामूहिक सन्देश सेवा पहिलेदेखि नै सञ्चालनमा ल्याइरहेको भए पनि दसैंको अवसरमा सुलभ प्याकेज घोषणा गरेको हो। यो सेवा अन्तर्गत आफ्नै मोबाइल नम्बर देखिने गरी १० हजारसम्म मोबाइल नम्बरमा सन्देश (एसएमएस) पठाउन सकिन्छ।
यस अनुसार २ हजार, ५ हजार र १० हजार वटासम्म मोबाइल नम्बरमा सन्देश पठाउन सकिने सामूहिक सन्देश (ग्रुप एसएमएस) सेवा उपलब्ध छ। प्रति सन्देश ५० पैसामा पठाउन सकिने यो प्याकमा २ हजार एसएमएस २ दिनभित्र पठाउन जम्मा एक हजार रूपैयाँ लाग्छ।
२ हजार ५ सय रूपैयाँमा ५ दिनभित्र ५ हजार एसएमएस पठाउन सकिनेछ। यस्तै, ५ हजार रूपैयाँमा १० दिनभित्र १० हजार एसएमएस पठाउन सकिनेछ। नेपाल टेलिकमको नेटवर्कभित्र मात्र प्रयोग गर्न सकिने यो सुविधामा लाग्ने दस्तुरमा कुनै पनि कर जोडिएको छैन।
यो सेवा प्रयोग गर्नका लागि groupsms.ntc.net.np मा लगइन गरी प्याकेज खरिद गर्न सकिनेछ। ग्राहकले आफ्नो मोबाइलबाट सामूहिक सन्देश पठाउनको लागि आफ्नो कन्ट्याक्टमा भएका नम्बरहरू एक्सेल सिटमार्फत् अपलोड गरी सन्देश पठाउन सकिने व्यवस्था गरिएको छ। एक्सेल सिटमार्फत एक पटकमा १ हजार नम्बरहरूमा एसएमएस पठाउन सकिन्छ। सोभन्दा बढीको लागि फेरि यही प्रक्रिया दोहोर्याइ आफूले चाहे बमोजिमका थप मोबाइल नम्बरमा सन्देश पठाउन सकिन्छ।