काठमाडौं । अर्जेन्टिनाको विश्वकप विजेता टिमका सदस्य रहेका अट्याकिङ मिडफिल्डर पापु गोमेजलाई डोपिङ टेस्टमा फेल भएपछि दुई बर्षको प्रतिबन्ध लागेको छ ।
स्पेनिस ला लिगामा सेभियाबाट खेल्नेक्रममा गोमेजले रातिमा निन्द्रा नलागेपछि डाक्टरको सल्लाह बिना प्रतिबन्धित बच्चाको सिरप खाएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । डोपिङ टेस्टमा पोजेटिभ देखिएपछि उनले दिएको जावफ चित्तबुझ्दो नपाइएपछि उनलाई दुई बर्षको प्रतिबन्ध लगाइएको हो ।
सेभियामा उनको पटक पटक गरिएको डोपिङ टेस्ट पोजेटिभ आएको थियो । एक महिना अघिदेखि नै टेस्ट गरिएको भएपनि अहिले आएर उनीमाथि फिफाले दुई बर्षको प्रतिबन्ध लगाएको छ ।
गोमेजले सेप्टेम्बर १ मा सेभिया छोडेर इटालियन क्लब मोन्जामा गएका थिए । गतबर्ष कतारमा सम्पन्न विश्वकपमा अर्जेन्टिनाका लागि गोमेजले दुई खेल खेलेका थिए । उनले अर्जेन्टिनाका लागि अहिलेसम्म १७ खेल खेल्दै ३ गोल गरेका छन् ।