काठमाडौं । नेपालीहरूको महान् पर्व विजयादशमीको उपलक्ष्यमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभकामना व्यक्त गरेका छन्। उनले स्वदेश तथा विदेशमा रहेका नेपालीलाई सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवं निरन्तर प्रगतिको काम गरेका छन्।
‘पूर्वीय सभ्यता, दर्शन, चिन्तन परम्परा, संस्कृति र पर्वहरूका दृष्टिले हामी वैभवशाली र गौरवशाली छौँ। हामीले नेपाली विशिष्टता र मौलिकताको सम्वर्धन एवं विकास गरेर ज्ञानविज्ञान, सभ्यता र संस्कृतिको क्षेत्रमा नयाँ पहल लिन सक्छौँ। यस दृष्टिले विविधतासहितको एकतामा आधारित हाम्रो समाज र संस्कृति संसारकै निम्ति अनुकरणीय र प्रेरणादायी छ,’ प्रचण्डले शुभकामना सन्देश जारी गर्दै भनेका छन्।
उनले राष्ट्र निर्माणको यही संकल्प बोक्दै राष्ट्रसामु विद्यमान चुनौतीहरूको सामना गर्न राष्ट्रिय एकताका पक्षमा सकारात्मक भाष्यको निर्माण गर्ने अठोटका साथ विजयादशमी मनाउन सबैलाई अनुरोध गरेका छन्। उनले नेपाली समाजलाई समुन्नत बनाउन सबैको साथ, सहयोग र ऐक्यबद्धतासहित सामाजिक सहिष्णुता र सदभाव अझै अभिवृद्धि हुने अपेक्षा गर्दै शुभकामना व्यक्त गरेका छन्।