काठमाडौं ।राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंले सबैखाले विकृति, विसंगति अन्त्य गर्दै सामाजिक सद्भाव, एकता, मेलमिलाप र भ्रातृत्वको अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्।
बडादसैंको उपलक्ष्यमा दिएको शुभकामना सन्देशमा उनले यस पर्वले सबै नेपालीलाई आ-आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको आर्थिक समृद्धि प्राप्त गर्ने सामर्थ्य प्रदान गरोस् भनी कामना गरेका छन्।
उनले भनेका छन्, ‘यो पर्व सत्यको विजय र असुरी चरित्रको पराजय, दुराचारमाथि सदाचारको जीत, आपसी सद्भाव, भ्रातृत्व र पुनर्मिलनको प्रतीक पनि हो।’
राष्ट्रपति पौडेलले मुलुकमा परम्परागतरूपमा हर्षोल्लासपूर्वक मनाउने गरिएका यस्ता चाडपर्वले भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीच रहेको हाम्रो मौलिकतालाई थप सुदृढ गर्नुका साथै सांस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न पनि थप योगदान गरिरहेको बताए।
बडादसैंमा मान्यजनप्रति श्रद्धा र सम्मान स्वतःस्फूर्त अभिव्यक्त हुने प्रचलनले पनि यसको महत्त्व उजागर गरिरहेको बताउँदै उनले दसैंलगायका महान् चाडपर्वको संरक्षण एवं संवर्द्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्ने विचार प्रकट गरेका छन्।
राष्ट्रपति पौडेलले सन्देशमा भनेका छन्, ‘नेपालीहरूको महान् चाड बडादसैँ २०८० को शुभअवसरमा देश-विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।’
शक्तिको प्रतीकका रूपमा मनाइने बडादसै| असोजको शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी सोही दिनदेखि निरन्तर शक्तिरूपी नवदुर्गा भवानीको पूजा आराधना गर्दै दशमीका दिन भवानीको प्रसादस्वरूप मान्यजनको हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्न तथा पूर्णिमासम्म विशेषरूपमा मनाइँदै आएको प्रसंग पनि उनले सन्देशमा उल्लेख गरेका छन्।
राष्ट्रपति पौडेलले विजयादशमीको दिन दुर्गा भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको धार्मिक तथा ऐतिहासिक कथन रहेको तथा बडादसैँको उपलक्ष्यमा पारिवारिक जमघट एवं पुनर्मिलन भई खुुसीयाली र हार्दिकता साटासाट गरी मनाउने प्रचलन रहिआएको विषयसमेत जानकारी गराएका छन्।
उनले सन्देशमा भनेका छन, ‘बडादसैं २०८० ले हामी सबैमा नयाँ उत्साह, उमङ्ग, असल कामलाई हौसला प्रदान गर्न र सकारात्मक ऊर्जा थप्न दुर्गा भवानीले आर्शीवाद दिउन् भन्ने शुभकामना प्रकट गर्दछु।’