धनगढी / सुदूरपश्चिम प्रदेश सरकारले लगानी तथा विकास सम्मेलन २०८० आयोजना गर्ने भएको छ।
विहिवार बसेको मन्त्रिपरिषदको बैठकले कैलालीको धनगढीमा प्रदेश सम्मेलन गर्ने निर्णय गरेको हो। बिहिवार बसेको मन्त्रिपरिषदले आगामी फागुन २३ र २४ गते दुईदिन प्रदेश लगानी सम्मेलन आयोजना गर्ने निर्णय गरेको बैठक पछि पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री कमल शाहले जानकारी दिए।
मुख्यमन्त्री शाहले लगानीको वातावरण बनाउन र लगानीको सम्भावना पहिचान गरि प्रदेशको समग्र विकासका लागि सम्मेलन आयोजना गर्न लागिएको बताए।
‘यो सम्मलेलन, सम्मेलनका लागि मात्र नभएर उपलब्धिमूलक होस, हाम्रो पहलबाट प्रदेशमा केही गर्न सकौँ र लगानीको वातावरण बनाएर लगानीकर्ताहरुलाई पनि यो प्रदेशमा ल्याउन सकौँ’, मुख्यमन्त्री शाहले भने–‘यहाँ भएका कृषि, पर्यटन, उर्जा, पूर्वाधारका क्षेत्र र प्रदेशको समग्र विकासका क्षेत्र र कुन कुन ठाउँमा लगानीका सम्भावना छन् त्यो लगानीका सम्भावना भएका आयोजनाहरुको पहिचान गर्न पनि सम्मेलनको आयोजना गर्न लागिएको हो।’
सम्मेलनमा विशेष गरि नेपाल भित्र र बाहिर रहेका नेपालीहरुलाई आग्रह गरेर सबैको साथ र सहयोगले लगानीको वातावरण बनाएर अगाडी बढ्ने मुख्यमन्त्री शाहले बताए। सम्मेलनका लागि प्रदेश सरकारले ५० लाख बजेट पनि विनियोजन गरेको छ।