काठमाडौं । दशैंको मुख्य दिन नजिकिएसँगै उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढिरहेको छ।
पछिल्लो २४ घण्टामा १ लाख जनाले उपत्यका छाडेका छन्। आज (शुक्रबार) बिहानसम्मको अद्यावधिक विवरणअनुसार सार्वजनिक सवारीसाधनमार्फत् पछिल्लो २४ घण्टामा १ लाख यात्रु बाहिरिएका काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए। योसँगै घटस्थापनापछि शुक्रबारसम्म कुल ४ लाख ६६ हजार नागरिक दशैं मनाउन काठमाडौं उपत्यका छाडेर गएका छन्।
घटस्थापनापछि क्रमशः उपत्यकाबाट बाहिरिने नागरिकको सङ्ख्या बढ्न सुरु भएकामा पछिल्लो ३ दिनदेखि अत्यधिकरूपमा बढेको भट्टले जानकारी दिए। उनका अनुसार घटस्थापनाको दिन असोज २८ गते ५१ हजार २७९ र त्यसको भोलिपल्ट ५१ हजार ३८७ जनाले उपत्यका छाडेकामा त्यसपछि भने त्यो सङ्ख्या बढेको हो।
असोज ३० गते ७३ हजार ८९६, कात्तिक १ गते ९१ हजार १०२ र २ गते ९८ हजार ३३२ जनाले उपत्यका छाडेका छन्। शुक्रबार बिहानसम्ममा १ लाखले उपत्यका छाडेका प्रहरी वरिष्ठ उपरीक्षक भट्टले जानकारी दिए। निजी सवारीसाधनमार्फत् जानेहरूको सङ्ख्या गणना नहुने भएकाले अझै धेरै सङ्ख्यामा नागरिक उपत्यका छाडेको प्रहरीले जनाएको छ।