काठमाडौं । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले आफ्नो टिमप्रति गर्व रहेको प्रतिक्रिया दिएका छन् । विश्वकप फुटबलको एसिया छनोटमा नेपाललाई दोस्रो चरण पुर्याएका प्रशिक्षक एनिसले लाओसविरुद्ध नेपाली खेलाडीले राम्रो प्रर्दशन गरेको जनाए ।
‘केटाहरुले राम्रो खेले । यो खेल जित्नैपर्ने थियो । म मेरो टिमप्रति गर्व गर्छु ।’ एनिसले भने, ‘उनीहरुले आफुले सक्ने कोशिश गरे । अब हामीसँग अझ प्रतिस्पर्धात्मक खेलहरु छन् । खेलाडीसँग देश र आफ्ना लागि अझ राम्रो गर्ने अवसर छ ।’ उनले युवा खेलाडीसँगै नेपाली टिम सिक्ने प्रकृयामा रहेको उल्लेख गर्दै आगामी दिनमा अझ राम्रो हुँदै जाने जनाएका छन् ।
नेपालले विश्वकप छनोटको पहिलो चरणमा समग्रमा २–१ को नतिजा सहित दोस्रो चरण प्रवेश गरेको छ । दशरथ रंगशालामा भएको पहिलो लेगको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । नेपालले अब समूह एचमा रहेका बहराईन, युएई र यमनसँग होम एण्ड अवेका आधारमा दोस्रो चरणको छनोट खेल्न पाउनेछ ।