काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले विश्वकप छनोट खेल्ने खेलाडीलाई जनही ५१ हजार रुपैयाँ दिने भएको छ ।
लाओसमा विश्वकप छनोट खेलेर फर्किएको नेपाली टिमलाई त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा स्वागत गर्दै एन्फा अध्यक्ष पंकज बिक्रम नेम्वाङले टिमका खेलाडीलाई जनही ५१ हजार रुपैयाँ दिने घोषणा गरेका हुन् ।
‘एन्फा आर्थिक रुपमा जटिल अवस्थामा छ । दशैंमा जुन उपहार तपाईहरुले हामीलाई दिनुभएको छ । टोकोन मनिको रुपमा टिमका खेलाडीलाई ५१ हजार रुपैयाँ दिने भएका छौं । यो बाँकी हैन है, भोलिनै दिन्छौं ।’
नेम्वाङ्गले भने । लाओसविरुद्ध दोस्रो लेगमा जित निकाल्दै राष्ट्रिय फुटबल टिम बुधबार साँझ स्वदेश फर्किएको छ । नेपाली टिमलाई एन्फा अध्यक्ष नेम्वाङ्ग सहितका पदाधिकारीले स्वागत गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुगेका थिए ।