पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका –२ मा ट्रस निर्माणको क्रममा खसेर एक मजदुरको मृत्यु भएको छ । कपिलवस्तु महाराजगन्ज नगरपालिका–६ सहरनिया बस्ने ३० वर्षीय इजमान खानको मृत्यु भएको हो ।
मंगलबार दिउँसो साढे २ बजे रैनादेवी छहरा –२ सर्देवास्थित सिजी कम्पनीमा ट्रस बनाउनेक्रममा खान २२ मिटर माथिबाट तल खसेका थिए । उनलाई उपचारका लागि युनाइटेड मिसन अस्पताल तानसेन लगिएकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, जिल्लाको तानसेन नगरपालिका –१ मा मंगलबार एक पुरुष मृत फेला परेका छन् । तानसेन –१ उकालोपीपल बस्ने वर्ष ४० को खुमबहादुर सार्कीले आफ्नै घरमा मृत फेला परेका हुन् ।
आज बिहान अबेरसम्म पनि घरको ढोका नखोलेपछि छिमेकी वीरबहादुर नेपालीले घरमा गई झ्यालबाट हेर्दा घरभित्र सुतिरहेको अवस्थामा देखिएका थिए । बोलाउँदा समेत नउठेपछिसँगै अस्थायी प्रहरी पोष्ट भुसलडाँडा र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी अनुसन्धान अधिकृतसहितको टोलीले जनप्रतिनिधिको रोहबरमा ढोका खोली हेर्दा उनी बिस्तरामा मृत अवस्था फेला परेका थिए ।
प्रारम्भिक अनुसन्धान कार्य पश्चात् उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाल्पामा पठाइएको प्रहरीले बताएको छ ।