काठमाडाैं । एनआईसी एसिया बैंकले कृषि ऋणको दुरुपयोग गरेको पाइएको छ । सरकारले उत्पादन अभिवृद्धि, रोजगारी सिर्जना र उद्यमशीलता विकासका लागि ल्याएको ‘सहुलियतपूर्ण कर्जा कार्यक्रम’ मार्फत् प्रवाह भएको ऋणको दुरुपयोग भएको तथ्य खुलेको बताइन्छ ।
किसानलाई कम ब्याजदरमा दिइने भनिएको ऋण बैंकले आफुखुसी लगानी गर्दै आएको पाइएको छ । बैंकका प्रबन्धकसहितको मिलोमतोमा राज्यलाई ठग्ने कार्यले प्राथमिकता पाएको कृषकहरुको आरोप छ । उनीहरुका अनुसार घरजग्गा, गाडी खरिदलगायत अनुत्पादक क्षेत्रमा कर्जा लगानी गरिएको छ ।
विभिन्न प्रलोभनमा व्यापारीलाई कर्जा प्रवाह नरोकिएको स्रोतको दाबी छ । कृषि ऋणको नाममा व्यापक अनियमितता भइरहेको गुनासो सेवाग्राहीहरुले गर्दै आएका छन् । रौतहटको गरुडामा शाखा रहेको एनआईसीले नक्कली किसानलाई कृषि कर्जा प्रवाह गरेको स्थानीयको दाबी छ ।
मालपोत कार्यालय, चन्द्रनिगाहपुरमा दर्ता कायम रहेको जग्गाको लिखतमा उल्लेखित रकमलाई एनआईसीले केरमेट गरेर कैयौं गुणा बनाएको बताइन्छ । सरकारी कार्यालयमा पेश गरिएको कागजात आफैंले सच्याएर किर्ते गरेको आरोप यतिबेला एनआईसीमाथि लागेको हो ।
सोही जमिनलाई एनआईसीले ऋण स्वीकृत गर्न लिखतमा आफैंले दुई थपेर खरिद मूल्य दुई करोड २९ लाख पाँच हजार रुपैयाँ बनाएको दाबी छ । सोही आधारमा कर्जा प्रवाह गरिएको पाइएको हो ।
जमिन खरिद गरेको छ महिना नाघेपछि मात्र बैंकले ऋण दिने कानुनी प्रावधान छ । तर, एनआईसीले आफू अनुकूल जमिन खरिदको महिना दिन नबित्दै ऋण दिने गरेको पाइएपछि स्थानीय आक्रोशित भएका हुन् । बैंकबाट सहुलियत कृषि ऋण लिएका राय र गिरी कृषि पेशामा आबद्ध नभएको उनीहरुको भनाई छ । एनआईसीका तत्कालीन प्रबन्धक आमोद गुप्ता आफूलाई उक्त विषयमा केही जानकारी नभएको जनाउँदै पन्छिएका छन् ।
उनले भने, ‘म बैंकसँग आबद्ध छैन । त्यसैले मलाई केही थाहा छैन ।’ सो बैंकबाट रायले अनु कृषि फर्मको नाममा तीन करोड ५० लाख र गिरीले अम्बे कृषि फर्मको नाममा कृषि ऋण स्वीकृत गराएका थिए । यस विषयमा बुझ्न खोज्दा दुवै प्रतिक्रियाविहीन भएका हुन् ।