काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तीन महिना साउन, भदौ र असोजमा १ अर्ब ४ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
बैंकको यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.६२ प्रतिशत बढी हो । पहिले यस्तो नाफा १ अर्ब ३ करोड थियो । बैंकको खुद ब्याज आम्दानी बढ्दा नाफामा योगदान पुगेको छ । यस्तो आम्दानी ३.१ प्रतिशत बढेको छ ।
गत आर्थिक वर्षको तीन महिनामा खुद ब्याज आम्दानी २ अर्ब ५४ करोड रहेकोमा अहिले २ अर्ब ६२ करोड पुगेको छ । बैंकको लोनलस प्रोभिजन बढेको छ । गत आवको पहिलो त्रैमासमा प्रोभिजन रकम ७ करोड ९४ लाख रहेकोमा यो आवको पहिलो त्रैमासमा ३८ करोड ४१ लाख रुपैयाँ छ ।
चालु आवमा असोज मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ३ करोड ४७ लाख रुपैयाँ अर्थात् प्रतिसेयरमा ०.५९ रुपैयाँ छ । वार्षिक प्रतिसेयर आम्दानी १७ रुपैयाँ ६८ पैसा छ ।
बैंकको निष्क्रिय कर्जा बढेको छ । यस्तो कर्जा गत वर्षको असोज मसान्तसम्म ३.९७ प्रतिशत रहेकोमा यो असोज मसान्तसम्म ४.९४ प्रतिशत पुगेको छ । सीडी रेसियो ७४ प्रतिशतमा झरेको छ ।
आधार दर १०.१७ प्रतिशतबाट ७.६५ प्रतिशतमा झरेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ९३ पैसा छ । मंगलबार बजार बन्द हुँदा बैंकको सेयर मूल्य प्रतिकित्ता २५८ रुपैयाँ छ ।