–निमकान्त पाण्डे
युवाको पलायन अहिले राष्ट्रिय संकटको रुपमा देखापरेको छ । हरेक दिन १५ सयभन्दा बढी युवा यो देशबाट अन्यत्र मुलुक पुगिरहेका छन् । यो त सरकारले राखेको तथ्यांक भयो । यसबाहेक पनि हरेक दिन स्थलमार्गमार्फत भारत हुँदै अन्य देश जाने नेपालीको संख्या पनि कम छैन । समग्रमा हरेक वर्ष नेपालमा युवाको संख्या घट्दै छ, यहाँ केवल बालबालिका, घरेलु कामकाजमा रहेका महिला तथा वृद्धवृद्धा मात्र छन् । ग्रामीण क्षेत्रमा त युवाको संख्या अत्यन्त न्यून भएको छ भने सहरी क्षेत्रमा पनि त्यसको असर देखिन थालेको छ । त्यसैले पनि यो नेपालका लागि ठूलो राष्ट्रिय संकट हो भन्ने पंक्तिकारलाई लाग्छ ।
युवावस्था भनेको काम गर्ने उमेर हो । कुनै युवालाई सक्षम बनाउन अभिभावक तथा सरकारले लामो समयदेखि लगानी गरिरहेको हुन्छ । त्यसैले उनीहरुको कामबाट देशको अर्थतन्त्र चलायमान हुनुका साथै देशमा विकास र समृद्धिको पनि परिकल्पना गरिन्छ । त्यसैले कुनै पनि देशमा युवाको संख्या धेरै हुनुलाई स्वर्णकाल मानिन्छ । धेरै देशमा युवाको संख्या बढी हुँदा ती देशले विकासमा फड्को मारेका उदाहरण पनि थुप्रै छन् ।
अहिले नेपालमा पनि युवाको संख्या बालबालिका तथा वृद्धवृद्धाको भन्दा धेरै छ । तर यो अवस्था धेरै लामो समयसम्म रहन्न । यसको अर्थ केही वर्षपछि नै नेपालमा युवाको भन्दा वृद्धवृद्धाको संख्या धेरै हुनेछ । अहिले नै विगतमा जस्तो धेरै सन्तान पाउने चलन हटिसकेको छ । बढ्दो आर्थिक भारका कारण युवा एक वा बढीमा दुई सन्तान मात्र चाहना राख्छन् । अझ वैदेशिक रोजगारीमा जाने कारणले सन्तान पाउने उमेर पनि बढ्दै गएको छ । त्यसकारण बालबालिका र युवाको संख्याको विगतमा तुलनामा आगामी दिनमा घट्दै जाने स्पष्ट नै छ । त्यसैले युवाको संख्या धेरै रहेको अवस्था नेपालका लागि स्वर्णकाल हो ।
तर, यो स्वर्णकालको सदुपयोग भने अन्यत्रै देशले गरिरहेका छन् । हो, नेपालमा रोजगारीको कमीका कारण धेरै युवा वैदेशिक रोजगारी तथा अन्य बहानामा विदेश पुगिरहेका छन् । हाल नेपालबाट काम र अध्ययनका लागि युवा विदेशिरहेका छन् । रोजगारी नहुँदा अदक्ष, अर्धदक्ष, दक्ष सबैखाले जनसंख्या खाडी मुलुक, दक्षिण कोरिया, युरोप, अमेरिकाजस्ता स्थानमा पुगिरहेका छन् । खाडी मुलुकमा जाने नेपाली आफ्नो श्रम गर्नसक्ने उमेरसम्म त्यहीँ रहने र काम गर्न नसक्ने भएपछि मात्र नेपाल फर्किने गरेका छन् । त्यसैले नेपाली सस्तो श्रमको उपयोग गरेर खाडी मुलुक झनै समृद्ध बनिरहेका छन् । अर्कोतर्फ जापान, युरोप, अस्ट्रेलिया, अमेरिका तथा क्यानडा जस्ता स्थानमा अध्ययनका लागि भनेर धेरै नेपाली विद्यार्थी पुगेका छन् । यहाँ जानका लागि ठूलो रकम खर्च गर्नुपर्छ । त्यस्तै अध्ययनका लागि पनि नेपालबाट ठूलो रकम विद्यार्थीले लैजाने गर्छन् । एकातर्फ उनीहरुले यसरी नेपालबाट रकम कमाइरहेका छन् भने अर्कोतर्फ त्यहाँ पुग्ने नेपाली विरलै मात्र नेपाल फर्कन्छ । नेपालीलाई स्थानीय नागरिकभन्दा सस्तो पारिश्रमिक दिँदा हुने भएकाले उनीहरुलाई पनि त्यहीँ बस्ने व्यवस्था गरिएको छ । नेपालीहरु पनि यहाँको राजनीतिक अवस्था, अविकासजस्ता कारणहरुले विदेशमा नै बस्न रुचाइरहेका छन् ।
यस्तो अवस्था आउनुको कारण हो, राजनीतिक असफलता, बेरोजगारी र काम गर्ने वातावरण नहुनु । नेपालमा केही दशकमा विभिन्न व्यवस्था फेरिएका छन् । यसले राजनीतिक रुपमा सफलता देखिए पनि जनताको हकमा भने कुनै परिवर्तन भएको छैन । विभिन्न आन्दोलनले नयाँ पार्टी तथा नेतालाई राजनीतिमा स्थापित गरे पनि उनीहरु सक्षम, योग्य र काबिल हुन नसक्दा त्यसको असर देशलाई परेको छ । हरेक राजनीतिज्ञले आफ्नो दुनो सोझ्याउँदा देश विकास ओझेलमा परेको छ । देशमा केवल राजनीतिक परिवर्तन मात्र नभएपछि निराश भएका युवाले विकल्प खोज्ने नै भए । फलस्वरुप अहिले सयौं युवा दैनिक विदेश लागिरहेका हुन् ।
असफल राजनीतिका कारण देशमा विकास निर्माण ठप्प छ । कलकारखानामा उत्साह छैन, कृषक हतोत्साही भएका छन् । देशका वर्षेनि ५ लाख जना रोजगारीको बजारमा आउने गरेका छन् । तर, सरकार रोजगारी सृजना गर्न असफल साबित भइरहेको छ । देशमा रोजगारी नहुनु, भएका रोजगारी पनि अति नै न्यूनतम पारिश्रमिक हुनु, कृषकलाई प्रोत्साहन नहुनु जस्ता कारणले पनि वैदेशिक रोजगारीमा जाने बढिरहेका छन् ।
अर्कोतर्फ देशमा नै केही गर्न चाहने व्यक्ति पनि सरकारी व्यवस्थाका कारण निराश भइरहेका छन् । नेपालको सरकारी व्यवस्था भ्रष्ट, अनियमितता, ढिलासुस्ती जस्ता आरोपका कारण आलोचित छ ।
यहाँ आफैं केही गर्छु भन्नेले ठाउँठाउँमा पैसा बुझाउनुपर्ने, काममा ढिलासुस्ती हुने, अनावश्यक सास्ती खेप्नुपर्ने, बजारको व्यवस्था नहुने, बिचौलियाको जगजगी र सरकारको असहयोग जस्ता समस्याबाट प्रताडित छन् । त्यसकारण नेपालमा केही गर्छु भन्ने र विदेशबाट आएर यहाँ नै केही गर्न खोज्नेहरु पनि ‘नेपालमा केही हुँदैन’ भन्ने मानसिकतामा पुगेका छन् । र, यस्तो अवस्था रहेसम्म कोही युवा पनि देशमा बस्न चाहँदैनन् । जबसम्म युवा देशमा बस्दैनन्, तबसम्म नेपालको विकास पनि सम्भव हुँदैन । यो तथ्यलाई मनन गरी सरकार तथा राजनीतिक दल अघि बढ्न जरुरी छ । जनधारणा साप्ताहिक