काठमाडौं / वैदेशिक रोजगारीको बाध्यताको विडम्बनास्वरुप फेरि एकपटक इजरायलको घटनाले समग्र नेपालीलाई पीडा दिएको छ । प्यालेस्टाइनको विद्रोही समूह हमासले शनिबार इजरायलमा गरेको आक्रमणमा त्यहाँ रहेका नेपालीमध्ये १० जनाको मृत्यु भएको हो । अझै केही नेपालीको अवस्था अज्ञात छ भने केही नेपाली सुरक्षित स्थानको लागि प्रयासरत छन् ।
देशमै रोजगारीको व्यवस्था हुन नसक्दा हरेक दिन सयौं नेपाली विदेशिरहेका छन् । यस क्रममा इजरायलजस्तै घटनामा परेर थुप्रै नेपालीको ज्यान गइसकेको छ । हालको इजरायल घटनाले यसअघि भएका इराक तथा अफगानिस्तानको घटनालाई पनि पुनः ताजा बनाइदिएको छ । १९ वर्षअघि इराकमा रोजगारीका लागि पुगेका १२ नेपालीलाई त्यहाँको आतंककारी समूह अन्सर अल सुन्नाले बन्धक बनाई क्रूर रुपमा हत्या गरेका थिए । नियन्त्रणमा लिएको १२ दिनपछि ती युवाको हत्या गरिएको थियो । तर, उनीहरुलाई सकुशल उद्धार गर्न नेपाल सरकार असफल भएको थियो ।
यस्तै, २०७३ असार ६ गते अफगानिस्तानको राजधानी काबुलमा आतंवादवादी समूह तालिबानले आत्मघाती आक्रमण गर्दा १३ नेपाली मारिएका थिए । क्यानेडेली दूतावासका सुरक्षागार्डका रुपमा कार्यरत उनीहरु चढेको मिनिबसमा असार ६ गते बिहान आत्मघाती आक्रमण हुँदा १४ जनाको मृत्यु भएको थियो जसमा १३ नेपाली परेका थिए । निवासबाट क्यानडेली दूतावास जाँदै गर्दा सडकमा सो आक्रमण भएको थियो ।
हाल इजरायलमा मृत्यु भएका नेपालीमध्ये अधिकांश विद्यार्थी थिए । उनीहरुले ‘कमाउ र सिक’ अभियानअन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयबाट केही महिनाअघि मात्र इजरायल पुगेका थिए । मृत्यु हुनेमा घोडाघोडी– ४ कैलालीका नारायणप्रसाद न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बौनियाँ– ३ कैलालीका आशिष चौधरी, लेकम– ५ दार्चुलाका दीपेशराज बिष्ट, पचनाली– ३ डोटीका राजन फुलारा छन् । यस्तै, लामिखाल– ८ डोटीका पदम थापा, शारदा– ३ सल्यानका प्रवेश भण्डारी, मालिकार्जुन– ४ दार्चुलाका लोकेन्द्रसिंह धामी, सपही– ६ धनुषाका आनन्द साह र मधुवन– १ सुनसरीका राजेशकुमार स्वर्णकारको मृत्यु भएको छ ।
तर, इजरायल जस्तो द्वन्द्वग्रस्त देशमा काम गर्न र पढ्नका लागि किन नेपाल सरकारले अनुमति दियो भन्ने विषय अहिले ठूलो प्रश्न हो । विगत केही दशकयता इजरायल र प्यालेस्टाइनबीच बेलाबेलामा आक्रमण भइरहने गरेको छ । हरेक वर्ष हुने सानाठूला घटनामा परी सयौं व्यक्तिको मृत्यु हुने गरेको छ । त्यसैले त्यहाँ काम गर्न होस् वा पढ्न ठूलो जोखिम रहेको तथ्यबाट जोकोही नै अवगत पनि छन् । तर, सरकारले यी तथ्यहरुलाई बेवास्ता गरेर आफ्नो कूटनीतिक सम्बन्धका लागि इजरायलमा विद्यार्थी पठाउने काम गर्दै आएको छ । रोजगारीका लागि पनि अनुमति दिएको छ ।
बेरोजगारी नै इजरायलजस्तो घटनाको मुख्य कारण हो भन्न सकिन्छ । अनि बेरोजगारी भने हाम्रो सरकार, राजनीतिक दल र तिनका नेतृत्वको असफलताका कारण सृजना भएको हो । त्यसैले अहिलेको घटनाको जिम्मेवारी पनि यही पक्षले लिनुपर्छ । यदि देशमा नै काम गर्ने वातावरण भइदिएको भए नेपाली रोजगारीका लागि विदेश नै धाउने बाध्यता हुने थियो । निकै कम नेपाली मात्र आफ्नो सोखका लागि विदेश जाने थिए । यी सबै पक्षमा सरकार, राजनीतिक दल र तिनका नेतृत्व दोषी छन् र उनीहरुले पाठ नसिके अझै यस्ता दुर्घटनाहरु भोग्दै जानुपर्नेछ ।
सरकारका अनुसार इजरायलमा हाल चार हजार पाँच सय जना नेपालीहरू केयरगिभरको रूपमा रहेको र दुई सय ६५ जना विद्यार्थी छन् । विद्यार्थीहरूमध्ये नेपालको कृषि विश्वविद्यालयबाट एक सय १९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना छन् । सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जनामध्ये १७ जना नेपाली दक्षिण इजरायलमा अध्ययनरत थिए । यो गाजा क्षेत्रनजिकै पर्छ । यहाँ रहेका १७ जना नेपालीमध्ये दुई जना सकुशल छन् भने तीन जना घाइतेको स्थानीय अस्पतालमा उपचार जारी छ । बाँकी १२ मध्ये १० जनाको मृत्यु भएको हो ।
यो घटनासँगै हमास विद्रोहीको कब्जामा रहेको गाजा क्षेत्र नजिकै नेपाली विद्यार्थीलाई किन लगियो भन्ने प्रश्न उठेको छ । असुरक्षित क्षेत्रमा नेपाली विद्यार्थीलाई पुर्याइएको र उनीहरुलाई सम्भावित जोखिमबारे पर्याप्त सचेत नगराइएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले सरकारको आलोचनासमेत गरेका छन् । आगामी दिनमा लर्न एण्ड अर्न कार्यक्रममा विद्यार्थी पठाउँदा नेपालले सुरक्षा चासोलाई पनि ध्यान दिनुपर्ने देखिएको जानकारहरु बताउँछन् । यता नेपाल सरकार भने इजरायलमा घटना भएदेखि नै उद्धारका लागि भन्दै बैठक र छलफलमै व्यस्त छ । सरकारले छिटोभन्दा छिटो त्यहाँबाट आउन चाहने नेपालीको उद्धार गर्न जरुरी छ ।
जनधारणा साप्ताहिकबाट