काठमाडौं । महिला अधिकारकर्मीले संविधान दिवसको अवसरमा सरकारबाट आममाफी पाएका योगराज ढकाललाई पुनः थुनामा राख्न माग गर्दै आन्दोलन गरेका छन्। बुधवार महिला अधिकारकर्मीले आममाफी फिर्ता गरी उनलाई जेल चलान गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन्।
उनलाई कैद मिनाह दिइएको भन्दै मृतककी पत्नी भारती मानन्धर माइतीघरमा अनशनरत छन्। उनीहरूले चेतन मानन्धरको आत्मालाई शान्ति दिन माग गर्दै शान्तिपूर्ण खबरदारी विरोध र् याली गरेका छन्।
नेपालगञ्ज बजारमा खुँडा प्रहार गरेर व्यक्ति हत्या गरेको अभियोगमा जन्मकैदको सजाय पाएका योगराज ढकाल (रिगल) लाई सरकारले संविधान दिवसको अवसर पारेर कैद मिनाह गरेको थियो। रिगल २०७२ असार २८ मा नेपालगञ्जका चेतन मानन्धरको हत्या गरेको अभियोगमा दोषी ठहर भएका थिए।
रिगल विरुद्धको मुद्दामा सर्वोच्च अदालतले सरकार र राष्ट्रपति कार्यालयको नाममा समेत कारण देखाउ आदेश जारी गरिसकेको छ। आन्दोलनमा उत्रिएका महिला अधिकारकर्मी अञ्जु केसी श्रेष्ठले यो घटना संविधानको धज्जी उडाएको बताइन्।
उनले दिनदहाडै हत्या गरेको सजाय सरकारले आममाफी दिनु भनेको अपराध भएको बताइन्। त्यस्तै, अर्की आन्दोलनकर्मी कल्पना बस्नेतले भारतीले न्याय पाउनुपर्ने र महिलामाथि हिंसा गर्नु नहुने बताइन्। उनले आममाफी दिने काम फिर्ता गर्नुपर्ने बताइन्। सरकारले महिलामाथि नै आक्रमण गरेको बताइन्।
आन्दोलनकारीले भारतीले न्याय पाउनुपर्ने बताए। स्वतन्त्रता भनेको यही हो भन्दै प्रश्नसमेत गरेका छन्। आन्दोलनकर्मीले विधिको शासन पालन गर्, हाम्रो जीवनको रक्षा गर सरकार, अपराधीलाई सम्मान गर्न बन्द गर्, जघन्य अपराधी रिगललाई जेल चलान गर्लगायत प्लेकार्ड बोकेर विरोध जनाएका थिए।