कठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सीमा बढाएपछि लगातार तेस्रो कारोबार दिन पनि सेयर बजारमा गिरावट भएको छ । गत बिहीबार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ करोडको सीमालाई बढाएर व्यक्तिगतमा १५ करोड र संस्थागतमा २० करोड बनाएको थियो ।
राष्ट्र बैंकले उक्त सीमा बढाएपनि सेयर लगानीकर्तामा भने त्यसले सकारात्मक प्रभाव पार्न सकेको छैन । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्सेमा १९.०६ अंकको गिरावट हुँदा १८८९.५९ को विन्दुमा झरेको छ । नेप्से साढे ५ महिनापछि १९०० को विन्दुबाट तल भरेर बन्द भएको हो । यसअघि ८ जेठ २०८० मा नेप्से १८९१.३१ को विन्दुमा बन्द भएको थियो भने ७ जेठमा १८८३.२० को विन्दुमा बन्द भएको थियो ।
मंगलबार नेप्सेसँगै सबै उपसूचकमा गिरावट भएको हो । हाइड्रोपावर उपसूचक सर्वाधिक १.७९ प्रतिशतले गिरावट हुँदा निर्जीवन बीमा उपसूचक १.६९ प्रतिशतले गिरावट भएको छ । यस्तै होटल तथा पर्यटन उपसूचक पनि १.५८ प्रतिशतले गिरावट भएको छ ।
मंगलबार कारोबार भएकामध्ये सानिमा जीआईसी इन्स्योरेन्सको सर्वाधिक २० करोड ३८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै नबिल बैंकको ३ करोड ३४ लाख र एनआईसी एशिया बैंकको ३ करोड ३ लाखको कारोबार भएको छ ।
मंगलबार नेप्सेमा कुल २३३ सूचीकृत कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये १९३ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ३१ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । ९ कम्पनीको सेयरमूल्य भने स्थिर छ ।
मंगलबार कारोबार भएकामध्ये अप्पर लोहोर खोला हाइड्रोपावर कम्पनीको सेयरमूल्य सर्वाधिक ५.८६ प्रतिशतले वृद्धि भएको छ । यस्तै इन्फिनिटी लघुवित्तको सेयरमूल्य ४.१९ प्रतिशत र गुराँस लघुवित्तको सेयरमूल्य ४.०३ प्रतिशतले बढेको छ ।
बाराही हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ७.६४ प्रतिशतले गिरावट हुँदा गरिमा ऋणपत्र २०८५ को मूल्य ५.३८ प्रतिशतले गिरावट भएको छ । यस्तै रावा इनर्जी डेभलमेन्ट कम्पनीको सेयरमूल्य भने ५.४८ प्रतिशतले गिरावट भएको हो ।