काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको छैठौं पूर्ण बैठकले विद्यालय शिक्षा ऐनका विषयमा सशोधन राख्ने विषयमा छलफल गरेको छ। त्यसैगरी विद्यालय शिक्षा ऐनका सन्दर्भमा कसरी सशोधन राख्ने भन्ने विषयमा सरकारका तर्फबाट प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका छन्। बैठकमा सम्पूर्ण दलका सचेतकहरुलाईसमेत बोलाइएको माओवादी संसदीय दलका सचेतक हितराज पाण्डेले जानकारी दिए। उनले सर्वदलीय बैठकको निचोडका आधारमा सत्तापक्षका सबै गठबन्धन दलसँग छलफल गरेर संशोधन प्रस्ताव राखिने बताए।
पाण्डेले सरकारको निमन्त्रणामा संयुक्त राष्ट्र संघका महासचिव नेपाल आउन लागेको र आगामी २७ गते शनिबार संघीय संसद्लाई सम्बोधन गर्नेसमेत जानकारी दिए। त्यसैगरी संसदीय दलको बैठकले संसद्को दोस्रो अधिवेशनको अन्त्यपछि सबै सांसदहरु आ–आफ्नो कार्यक्षेत्र जाने र त्यस बेलामा शुभकामना आदान प्रदान कार्यक्रममार्फत् सरकारसँग जोडिने, सरकारले गरेका काम काजहरु जनताहरुलाई जानकारी गराउने निर्णय भएको बताए।
इजरायलमा मृत्यु भएकाहरुलाई श्रद्धाञ्जली अर्पण गर्ने, नेपाल आउन चाहनेलाई छिटो उद्धारको पहल गर्ने निर्णय पनि भएको छ।