प्यालेस्टाइनका हमास विद्रोहीले अचानक इजरायलमा छिरेर व्यापक आक्रमण सुरु गरेसँगै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासविरुद्ध युद्धको घोषणा गरेका छन्। इजरायललाई थाहै नदिइ सयौं हमास विद्रोहीहरु इजरायल छिरेर अन्धाधुन्ध आक्रमण सुरु गरेका थिए।
आक्रमणमा परी अहिलेसम्म २२ जना इजरायलीको मृत्यु भइसकेको छ भने ५०० भन्दा बढी घाइते भएका छन्। ठूलो संख्यामा हताहति भएको हुनसक्ने आशंका गरिएको छ। अहिले पनि आक्रमण जारी रहेकाले त्यहाँको पूरा विवरणा आउन बाँकी छ।
प्यालेस्टाइनीहरुले गाजा क्षेत्रमा ठूलो मात्रामा इजरायलीहरुलाई बन्धक बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन्। एकाएक हमास विद्रोहीहरुले आक्रमण सुरु गरेपछि इजरायल अप्रत्यासित संकटमा परेको छ।
हमास विद्रोहीहरुले गाजाबाट हजारौं मात्रामा रकेटहरु एकै पटक इजरायलमा प्रहार गरे। यो पटक उनीहरु प्यारासुटबाट धमाधम इजरायली शहरमा झरेर अन्धाधुन्ध गोली प्रहार गर्दै सर्वसाधरणको हत्या गरिरहेका छन्।
प्यालेस्टाइन मिलिटेन्ट समूहका एक अधिकारी मोहम्मेद डेइफले इजरायलको अत्यचारको सीमा नाघेको भन्दै आफूहरुसँग आक्रमणको विकल्प नभएको बताएका छन्। अहिले इजरायलीहरु भागाभाग भएको छ। सरकारले घरमा नै झ्याल ढोका लगाएर सुरक्षित बस्न आग्रह गरे पनि स्थानीयहरु त्रसित रहेका छन्।