–निमकान्त पाण्डे
विश्वमा अहिले अर्का दुई देशबीच तनाव बढेको छ । शिख समुदायका एक व्यक्तिको हत्याको विषयलाई लिएर हाम्रो छिमेकी देश भारत र क्यानडा आमनेसामने भएका छन् । रुस–युक्रेन युद्धका कारण विभाजित रहेका विश्वका देशहरुले यो विवादमा पनि आआफ्नो धारणा राखिरहेका छन्, जसले देशहरुमा एकता नभई विभाजन ल्याउन मलजल गरिरहेको छ ।
क्यानडामा केही समयअघि हरदीप सिंह निज्जरको हत्या भएको थियो । निज्जर भारतमा स्वतन्त्र राज्य खालिस्तानको माग गर्ने संगठनका नेता थिए । क्यानडा बसोबास गरिरहेका र क्यानडेली नागरिक भएका कारण उनको हत्यामा क्यानडाले भारतमाथि औंलो तेस्र्याएको हो । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले निज्जरको हत्यामा भारतीय खुफिया एजेन्सीको हात रहेको अभिव्यक्ति दिएका छन् । भारतले पनि त्यसको प्रतिवाद गर्दै पुष्टि गरेर देखाउन चुनौती दिएको छ । यही विवादका कारण दुई देशबीचको सम्बन्धमा दरार त आएको छ नै विश्वका प्रमुख देशहरुले कसको पक्ष लेलान् भन्ने चासो छ । अर्कोतर्फ यो विवादले विश्वको अर्थतन्त्रमा असर पार्ने त छँदै छ नै ।
दुई देशको विवादअघि खालिस्तान भनेको के हो भन्ने बुझ्न आवश्यक छ ।
सन् १९४७ मा भारतले स्वतन्त्रता पाउँदादेखि नै शिख समुदायले यो मुद्दा उठाउँदै आएका छन् । तत्कालीन भारत र पाकिस्तानबीच विभाजन हुँदा शिख समुदायले आफ्ना लागि छुट्टै राज्यको माग गरेका थिए । त्यतिबेला शिख समुदायको ठूलो संख्या पञ्जाब प्रान्तमा बसोबास गर्थे । तर, विभाजनपछि पञ्जाबको ठूलो हिस्सा पाकिस्तानमा परेको थियो । थोरै भूभाग जुन भारतमा परेको थियो, त्यसमा बसोबास गर्न ठूलो संख्यामा शिख समुदायका व्यक्ति यता आएका थिए । त्यसपछि त्यहाँ उनीहरु बहुमतमा आएका थिए । तर, भारतले भने पञ्जाबलाई सधैं स्वतन्त्र राज्यको मान्यता दिन नै आलटाल गरिरह्यो । त्यही बेलादेखि नै शिख समुदायले आफ्नो मागलाई निरन्तरता दिँदै आएका छन् ।
भारत सरकारले शिख समुदायलाई भड्काएको ठूलो घटना हो, गोल्डेन टेम्पलको घटना । सन् ८० र ९० को दशकमा शिख समुदायको मागलाई दबाउने उद्देश्यले उनीहरुको पवित्रस्थल गोल्डेन टेम्पलमा भारत सरकारले आक्रमण गरेको थियो । त्यहाँ बसेका विद्रोहीलाई मार्ने काम मात्र नभई गुरुद्वाराको ठूलो भूभागमा क्षति भएको थियो । त्यतिबेला आक्रोशित शिख समुदायका व्यक्ति आजपर्यन्त पनि विद्रोहमा छन् । त्यतिबेला नयाँदिल्लीमा शिख समुदायमाथि ठूलो ज्यादती पनि भएको थियो । तत्कालीन समयमा गोल्डेन टेम्पलमा आक्रमण गर्न लगाउने भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीलाई उनका सुरक्षा गार्डले नै गोली हानेर हत्या गरेका थिए ।
अहिले शिख समुदायका व्यक्ति विभिन्न देशमा बसोबास गर्छन् । क्यानडा, अमेरिका, अस्ष्ट्रेलिया, बेलायत लगायत बढी भारतीय बसोबास गर्ने देश हुन् । क्यानडामा धेरै संख्यामा शिख समुदायका व्यक्ति बस्छन् । त्यहीकारण खालिस्तान स्वतन्त्रताको गतिविधि पनि यी देशमा हुँदै आएको छ । तर, पृथकतावादी यो गतिविधिले भारतलाई भने सधैं टाउको दुखाइ हुँदै आएको छ । आफ्नै देशको ठूलो समुदायलाई सहमतिमा ल्याउन नसक्दा हालसम्म बेलाबेलामा रक्तपातपूर्ण हिंसा हुँदै आएको छ ।
यो विवादका कारण अहिले क्यानडा र भारतबीचको सम्बन्धमा दरार ल्याएको छ । भारतको समस्या अहिले क्यानडामा पनि पुगेको छ । त्यहाँको राजनीतिक र सामाजिक वातावरण पनि बिथोलिएको छ । त्यसैले अहिलेको विश्वमा कुनै पनि कुनाको समस्याले अर्को देशमा पनि असर पर्न सक्छ । भारतीय शासकहरुकै कारण नेपालमा भुटानी शरणार्थीका कारण निम्त्याईएको तरोताजा नै छ । अरुमाथि समस्या थोपरेर आफू शान्त बन्न सकिन्न भन्ने पाठ भारतका शासकहरुले राम्रैसँग सिक्न पाएका छन् । तर चेत खाएका छैनन् । अर्कोतर्फ भारतले आफ्नो समस्यालाई समाधान गर्न नसकेमा त्यसको असर विश्वभर पर्न सक्ने यथार्थलाई बुझ्न आवश्यक छ । साथै आफ्ना देशमा अनावश्यक तत्वलाई चलखेल गर्न सहायता गर्ने वा उक्साउने गतिविधि पनि बन्द गर्नुपर्छ । भारतले नेपाललाई आफूमा गाभ्ने हिसाबले लामो समय त्यो गतिविधि सञ्चालन गर्दै आएको छ । भारतकै कारणबाट नेपालमा राजनीतिक अस्थिरताको मार परिरहेको छ । पाकिसतान, बंगलादेश, माल्त्यदिभ्हीस, भूटान, चीन लगायतका छिमेकी देशहरु माथि यस्तै समस्या भारतीय शासक बर्गले सृजना गराउने प्रयत्न गरिरहेका छन् । अहिले भारत तथा क्यानडा बिबादले उत्कर्ष लिएको छ । उनीहरुले फल भोगिरहेका छन् । पृथकतावादी गतिविधि कुनै पनि अर्थमा सही मान्न सकिँदैन । न त कसैले यसको अभ्यास गरेकालाई समर्थन गर्न सकिन्छ । अन्य देशबाट सञ्चालन गरिरहेका समूहमाथि असहयोगको अपेक्षा गरिरहेको भारतले आफूले पनि त्यस्तो गतिविधि बन्द गर्न जरुरी छ, आगे सबैलाई चेतना भया ! जनधारणा साप्ताहिक