एजेन्सी । अमेरिकाले गत वर्ष इरानबाट बरामद गरेको करिब ११ लाख गोली युक्रेनलाई हस्तान्तरण गरेको छ ।
मध्यपूर्वमा सञ्चालनको निगरानी गर्ने युएस सेन्ट्रल कमान्ड (सेन्टकम) ले गत वर्ष डिसेम्बरमा यमनका लागि उडेको जहाजबाट यी गोलीहरू बरामद गरिएको बताएको छ । पश्चिमी देशहरूले युक्रेनलाई उनीहरूको हतियार भण्डार घट्दै गएको जानकारी दिएका थिए ।
इरानबाट जफत गरिएका यी गोली युक्रेनलाई दिइएको सेन्टकमले जनाएको छ ।
गत वर्ष डिसेम्बर ९ मा अमेरिकाले मारवान १ नामक जहाजबाट यी गोली बरामद गरेको थियो । त्यो जहाजमा कुनै पनि देशको झन्डा थिएन । अमेरिकी सरकारले जुलाईमा एउटा प्रक्रियामार्फत यो जहाजको स्वामित्व प्राप्त गरेको थियो । यसमा इरानको इस्लामिक रिभोलुसनरी गार्डलाई आरोप लगाइएको थियो ।
इरानले लामो समयदेखि यमनका हुथी विद्रोहीलाई हतियार उपलब्ध गराएको आरोप लाग्दै आएको छ । यसैबिच, इरानले रुसलाई हतियार, विशेष गरी ड्रोनहरू आपूर्ति गरिरहेको खबर आएको छ ।