काठमाडौं । भूमि, व्यवस्था तथा सहकारीमन्त्री रञ्जिता श्रेष्ठले सरकारले संविधान दिवसको अवसरमा कैदीलाई आममाफी नदिएको बताएकी छन्। मंगलवार संसद् भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारले आम माफी नभइ कैद कट्टा मात्रै गरेको बताएकी हुन्। उनले आफूहरुले अपराधी राजनीतिक तवरबाट छुट्नुपर्छ नभनेको भन्दै यस पटक कसैलाई आममाफी नदिइएको र कैद कट्टा गरेर छुटाइएको बताइन्।
उनले कैद कट्टा गरेर छुटाउनु र आम माफी दिनु फरक भएको दाबी गरिन्। उनले भनिन्, ‘आम माफी एउटा छुट्टै कुरा हो। अदालतबाट दोषी ठहर भएकालाई पनि आम माफी दिने भन्ने कुरा छ। र अहिले आम माफी नै दिइएको छैन। किनभने यो त कैद कट्टा गरिएको हो। कैद कट्टा गरेर छुटाइएको हो। हामीले क्याविनेट बैठक बस्दा पनि त्यो भनेको छैन। अपराधीलाई राजनीतिक तवरबाट छुट्नुपर्छ भनेका छैनौं। कारागारमा गइसकेपछि कैद कानुनअनुसार भोग्नुपर्छ। यसपटक कसैलाई आममाफी दिइएको छैन। नबुझेको हो। कैद कट्टा हो।’ नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले हत्या, बलात्कार लागुऔषध लगायतमा आम माफी दिनेकुरा गलत भएको बताइन्। उनले पहिला यी कुरामा नदिने गरिए पनि अहिले विकृति आएको बताइन्। उनले भनिन्, ‘यो गलत परम्परा हो। पहिला मैले थाहा पाउँदा तीन, चार वटा कुरा हत्या, बलात्कार लागुऔषधमा माफी दिइँदैन थियो। अहिले जुनसुकैलाई पनि माफी दिने परम्परा भएको छ, त्यसमा राष्ट्रपतिलाई पनि मुस्ने गरिएको छ, उहाँले त हस्ताक्षर गर्ने मात्रै हो। हाम्रो नेतृत्व गरेकाहरु चुकेका हुन्। भ्रष्टाचारविहीन समाज र सुशासन भन्नेकुरा नारामा मात्रै सीमित छ।’