काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल कुनै पनि बेला शक्ति राष्ट्रहरूबीचको प्रतिस्पर्धाको शिकार बन्नसक्ने खतरा रहेको बताएका छन्।
राप्रपाले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘नेपालको परराष्ट्र नीतिः विगत, वर्तमान र भविष्य’ विषयक विचार गोष्ठीमा उनले यस्तो बताएका हुन्। वर्तमान सरकारको परराष्ट्र नीतिको कमजोरीको कारण नेपाल शक्ति राष्ट्रहरुको प्रतिस्पर्धा स्थानमा परिणत भइरहेको बताए। अहिले नेपालको परराष्ट्र नीति नरहेको टिप्पणी उनको थियो।
नेपालले देश–देशहरूसँग गरिरहेको सम्बन्ध आफ्नो सत्ता टिकाउनेमा केन्द्रित रहेको आरोप उनले लगाए।
उनले सरकारले छिमेकी देशरुसँग लिने ऋण सहयोग समेत कमिसन, व्यक्ति र पार्टीको लाभसँग गाँसेर लिने गरेको उल्लेख गरेका थिए। उनले विश्व राजनीतिमा आएको बदलाव र भूराजनीतिक परिस्थितीमा नेपाल रहेको बताए। अन्तर्राष्ट्रिय सम्बन्धमा नेपाल सामान्य अवस्थामा नभएको पनि उनको भनाइ थियो।
सत्तारुढ पार्टी र देशका मुख्य पार्टीहरुको विदेश सम्बन्ध राख्नु सत्ता केन्द्रित र सत्ताको लागि जे पनि सम्झौता गर्ने गरिएको अरोप उनले लगाए। उनले विदेशीहरुको साथ समर्थन भएन भने चुनाव जित्न, चुनाव जितियो भने पनि सरकारमा पुग्न सकिँदैन र सरकारमा पुगियो भने पनि टिक्न सकिँदैन भन्ने मान्यतामा मुख्य राजनीतिक पार्टीहरु रहेको बताए। उनले यस्ता क्रियाकलापले परराष्ट्र सम्बन्धमा गम्भीर परिस्थिति निम्त्याइरहेको बताए।