गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गत साउन २८ गतेको बाढीले क्षतिग्रस्त बनेको मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनी क्षेत्रको पुनर्निर्माणमा प्रदेश सरकारले सहयोग गर्ने जानकारी दिनुभएको छ ।
बाढी प्रभावित क्षेत्रको आज स्थलगत अवलोकन गर्दै उहाँले सङ्घीय सरकार, स्थानीय तह र दातृ निकायसँग सहकार्य गरेर बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गरिने बताउनुभयो । “स्रोतसाधनले भ्याएसम्म प्रदेश सरकारले कागबेनीको पुनर्निर्माणमा सहयोग गर्छ, दातृ निकायबाट पनि सहयोग जुटाउन पहल भइरहेको छ”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “तीनै तहका सरकारको सामूहिक प्रयासबाट मात्रै कागबेनी क्षेत्रको पुनर्निर्माण छिटो र सहज हुन्छ ।”
उहाँले बाढीले क्षतिग्रस्त बनाएका भौतिक संरचना, गुम्बा, धर्मशालालगायतको अवलोकन गर्नुभएको थियो । मुख्यमन्त्री पाण्डेले मुस्ताङ, मनाङलगायत हिमाली क्षेत्रको विकासका लागि प्रदेश सरकारले योजना र बजेट वृद्धि गरेको उल्लेख गर्नुभयो ।
मुख्यमन्त्री पाण्डेसहित प्रदेशसभा सदस्य योगेश गौचन, विकल शेरचन, नाम्डु गुरुङ, विमला गौचन, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटालगायतको टोलीले बाढी प्रभावित क्षेत्रको अवलोकन गरेको हो । रासस