काठमाडौं । हाङझाउ एसियाली खेलकुदमा राष्ट्रिय खेलकुद परिषद्ले सम्भावित पदक जित्ने खेलको सूचीमा राखेको बक्सिङ पनि पदकविहीन रहँदै १९ औं एसियाली खेलकुद प्रतियोगिताबाट बाहिरिएको छ।
पछिल्लो पटक २०१० मा दीपक महर्जनले बक्सिङमा नेपाललाई काश्य दिलाएका थिए। त्यसपछिका १३ वर्ष नेपाल पदकविहीन रह्यो।
शनिबार हाङझाउ जिम्नाजियममा नेपालकी सरस्वती राना मगर एक जित टाढा रहँदा सम्भावित काश्य पदकबाट नेपाल चुक्न पुग्यो। ७५ केजी मुनीको तौल समूहमा सरस्वती भियतनामकी लु क्विइनसँग ४–१ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिइन। लु भने सरस्वतीलाई हराउँदै सेमिफाइनलमा पुग्न सफल भइन्।
सरस्वती भियतनामकी खेलाडीसँग अंकको आधारमा पराजित भइन्। पहिलो राउन्डमा राम्रो लयमा देखिएपनि दोस्र र तेस्रो राउन्डमा उनले आफ्नो प्रदर्शनलाई निरन्तरता दिन सकिनन्। नेपालबाट बक्सिङमा यसपटक १३ खेलाडी सहभागी भएका थिए।
यसअघि बक्सिङमा रबिना थापाले एक बाउट जितेका थिए। उनले इन्डोनेसियाका खेलाडीलाई ४–१ ले हराउँदै अन्तिम १६ मा स्थान बनाएका थिए। तर अन्तिम १६ मा उनी उत्तर कोरियाका खेलाडीसँग पराजित भएर बाहिरिए। यीबाहेक अन्य खेलाडीको प्रदर्शन भने गतिलो रहेन।
एसियाली खेलकुदमा नेपालले बक्सिङले ६ काश्य पदक जितेको छ। पछिल्लोपटक सन् २०१० को ग्वाझाउ एसियाली खेलकुदमा दिपक महर्जनले बक्सिङबाट कास्य जितेका थिए। त्यसयता नेपालले एसियाडमा पदक जित्न सकेको छैन। नेपालले १९८६ मा ८ पदक जित्दा बक्सिङले ४ पदक जितेको थियो। नेपालले एसियाडमा पहिलो पदक बक्सिङबाटै प्राप्त गरेको थियो। दलबहादुर रानामगरले पहिलो पदक जित्दा सोही एसियाडमा मनोजबहादुर श्रेष्ठ, सुशील पोखरेल र तुलबहादुर थापाले कास्य जितेका थिए।
नेपालबाट बक्सिङमा एसियाडमा पदक भित्र्याउनेहरूः
स्वर्गीय दलबहादुर रानामगर, काश्य १९८६, सियोल, दक्षिण–कोरिया
–तुलबहादुर थापा, काश्य १९८६, सियोल, दक्षिण कोरिया
–शुसिल पोखरेल, काश्य १९८६, सियोल, दक्षिण कोरिया
–चित्रबहादुर गुरुङ, काश्य १९९०, बेइजिङ, चाइना
–दीपक महर्जन, काश्य २०१०, ग्वानझाउ, चाइना