काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकारलाई अपमानित गर्ने कार्य स्वीकार्य नहुने कान्तिपुर मिडिया ग्रुपलाई चेतावनी दिएको छ। महासंघले आइतबार विज्ञप्ति जारी गर्दै कानुनविपरीत पत्रकारलाई निष्कासन गरे महासंघलाई स्वीकार्य नहुने चेतावनी दिएको हो।
‘कान्तिपुर मिडिया ग्रुपले लामो समयदेखि त्यहाँ कार्यरत श्रमजीवी पत्रकारलाई निष्कासन गरेकोप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ। व्यावसायिक पत्रकारिताको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको उक्त ग्रुपले प्रचलित कानुन, विधि र पद्धतिविपरीत गरेको यो कार्यको महासंघ कडा शब्दमा विरोध गर्दछ,’ महासंघले भनेको छ।
महासंघले अगाडि भनेको छ,’श्रमजीवी पत्रकार ऐन, प्रचलित विधि र पद्धतिविपरीत पत्रकारलाई पेशाबाट निष्कासन गर्ने, कानुनविपरीत सरुवा गर्ने काम गर्ने, वातावरण नदिने र लामो समयको योगदानको अवमूल्यन गर्दै अपमानित गर्ने कार्य महासंघका लागि किमार्थ स्वीकार्य नहुने प्रष्ट पार्न चाहन्छौँ।’
आग्रह बेवास्ता गरिए कडा संघर्षमा उत्रिने महासंघले चेतावनी दिएको छ। ‘नेपाल पत्रकार महासंघ कान्तिपुर प्रतिष्ठान शाखाले त्यहाँको व्यस्थापन समक्ष राखेको मागहरूप्रति महासंघ पूर्ण समर्थन र ऐक्यवद्धता प्रकट गर्दै सोही मागको जगमा समस्याको समाधान खोजियोस् भन्ने प्रष्ट धारणा प्रस्तुत गर्दछ। महासंघ केन्द्र र प्रतिष्ठान शाखाको माग र आग्रहलाई बेवास्ता गरिए प्रतिष्ठान शाखासमेतको समन्वयमा कडा संघर्षमा उत्रिन बाध्य हुने कुरा स्पष्ट पार्दछौँ,’ महासंघका वरिष्ठ उपाध्यक्ष तथा श्रमजीवि पत्रकार हित प्रवर्द्धन समितिका संयोजक रमेश विष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।