ग्लोबल टाइम्सका पत्रकार हु युवेई र बाई युन्यी (ग्लोबल टाइम्स)ले भर्खरै चीनको आधिकारिक भ्रमणको क्रममा प्रवण्डसँग संवाद गर्नुभएको थियो । उहाँले पत्रकारहरूलाई आफूले क्रान्तिकारी बाटोमा लाग्दा देखेका सपनाहरू आंशिकरूपमा साकार भएको बताउनुभयो । यो तेस्रो कार्यकालको क्रममा उहाँले नेपालमा दीर्घकालीन एकता, स्थायित्व र आर्थिक समृद्धिको प्रवर्द्धन गर्ने आशा व्यक्त गर्नुभएको छ र यसका लागि बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) को रूपरेखाभित्र चीनसँगको सहकार्यलाई मजबुत बनाउने चाहना राख्नु प्रकट गर्नुभएको छ । विकाससम्बन्धी चीनको अनुभवले नेपालभित्रका जोखिममा परेका समुदायको सामाजिक-आर्थिक अवस्था सुधार गर्न आफ्नो सरकारलाई बहुमूल्य अन्तर्दृष्टि प्रदान गरेको उहाँको विश्वास छ ।
ग्लोबल टाइम्सः नेपालको प्रधानमन्त्रीको रूपमा यो तपाईँको तेस्रो कार्यकाल हो । तपाईँको प्रधानमन्त्रित्वसँग जोडिएको धेरै ठुला अपेक्षाहरू छन् । नेपाललाई समृद्धिको नयाँ युगतर्फ लैजानका लागि तपाईँको प्रशासनले गर्नुपर्ने मुख्य प्राथमिकताहरूबारे विस्तृतमा बताइदिन सक्नुहुन्छ?
प्रचण्ड : म देशलाई समृद्धिको बाटोमा डोर्याउने कार्यमा प्रतिबद्ध छु । हाम्रा प्रमुख चासो शान्ति र समृद्धि हुन् । वर्तमान सरकार सत्य तथा मेलमिलापको प्रक्रियालाई तीव्रता दिनेतर्फ केन्द्रित छ । हाम्रो उद्देश्य आन्तरिक र अन्तर्राष्ट्रिय शान्ति प्राप्त गर्नु हो, र हामी शान्ति स्थापनाका पहलहरूलाई तीव्रता दिन प्रतिबद्ध छौँ, जसको माध्यमबाट हामीले देशलाई संक्रमणकालीन अवस्थाबाट सफलतापूर्वक बाहिर निकाल्न सक्छौँ। राष्ट्रको दिर्घकालीन स्थायित्व र सुदृढ आर्थिक वातावरण निर्माणका लागि बृहत शान्ति र प्रभावकारी सुशासन सुनिश्चित गर्नु, विधिको शासन कायम गर्नु, राष्ट्रिय एकता प्रवर्द्धन गर्नु र राजनीतिक सहमति कायम गर्नु आवश्यक छ ।
ग्लोबल टाइम्सः के चीनसँगको सम्बन्ध तपाईँको प्रशासनको कूटनीतिक प्राथमिकताहरूमध्ये एक हुनेछ? तपाईँको कार्यकालमा चीन-नेपाल सम्बन्धमा तपाईँले के अपेक्षा गर्नुभएको छ ?
प्रचण्डः चीन-नेपाल सम्बन्ध निरन्तर असल छिमेकीको उल्लेखनीय उदाहरणको रूपमा रहेको छ । नेपालको कूटनीतिक प्राथमिकतामा चीनले महत्त्वपूर्ण स्थान रहेको छ । नेपाल-चीन सम्बन्ध सहस्राब्दी पुरानो सांस्कृतिक, आर्थिक र जनता–जनता बिचको सम्बन्धमा आधारित छ र शान्तिपूर्ण सहअस्तित्व, सद्भाव, सदिच्छा र पारस्परिक विश्वासका सिद्धान्तहरूद्वारा निर्देशित छ । नेपाल एक चीन सिद्धान्त (नीति) प्रति दृढ समर्थन गर्दछ, र हाम्रो भूमिमा कुनै पनि प्रकारका चीनविरोधी गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गर्दछ । हामी नेपालको सामाजिक-आर्थिक विकास र क्षेत्रीय अखण्डताका लागि चीनको निःशर्त समर्थनको पनि उच्च कदर गर्दछौँ, जुन हाम्रो सौहार्दपूर्ण र छिमेक सम्बन्धका लालमोहर (विशिष्ट पहिचान) हुन् ।
मेरो कार्यकालमा नेपाल–चीन सम्बन्ध थप सुदृढ हुने र नयाँ उचाइ हासिल गर्नेमा म विश्वस्त र आशावादी छु । हामीले सडक, रेलमार्ग, प्रसारण लाइन, हवाई मार्ग र दूरसञ्चार लगायतका सीमापार सम्पर्क सञ्जालहरू विकास गर्ने कार्यलाई प्राथमिकता दिएका छौँ । हाम्रा शीर्ष प्राथमिकताहरूमा सीमापार आर्थिक क्षेत्रहरू स्थापना गर्ने, सीमा-नाकाहरूमा व्यापार र लगानीसम्बन्धी पूर्वाधार विस्तार गर्ने र यसअघि भएका द्विपक्षीय सम्झौता र समझदारीहरूको प्रारम्भिक कार्यान्वयन समावेशिष्ट छन् ।
हामी सीमापार रेलवे र विद्युत प्रसारण लाइनहरूको निर्माणलाई यथाशीघ्र गति दिन पूर्णरूपमा प्रतिबद्ध छौँ। नेपालले सबै सीमापार कनेक्टिभिटी परियोजनाहरूलाई उच्च महत्त्व दिन्छ; हामी चिनियाँ पक्षबाट पनि यस्तै प्रतिबद्धताको अपेक्षा गर्छौं।
चीन र नेपाल बिचको हवाई सम्पर्क (सञ्जाल) विस्तार अर्को महत्त्वपूर्ण क्षेत्र हो, जसले चीन–नेपाल सम्बन्ध र सहकार्यलाई अझ बलियो बनाउने छ । लुम्बिनी र पोखरा विमानस्थलबाट चीनका विभिन्न सहरमा उडान सञ्चालन गर्ने हो भने यसले नेपालको पर्यटन क्षेत्रलाई पुनर्जीवन दिन र नेपालमा रोजगारीका अवसरहरू सिर्जना गर्न महत्त्वपूर्ण सहयोग मिल्नेछ ।
चीनसँग नेपालको ठुलो व्यापार असन्तुलन छ । नेपालमा प्राङ्गारिक मुख्य खाद्यान्न, फलफूल, तरकारी र दुग्धजन्य उत्पादनमा अपार सम्भावना छ भने चीनसँग महत्त्वपूर्ण प्राविधिक, उत्पादन र बजारीकरणको कौशल छ। हामीले आशा राखेका छौँ कि चीनले नेपाललाई ताजा लगानीसहित आधुनिक कृषि तथा खाद्य प्रशोधन प्रविधि उपलब्ध गराउन सहयोग गर्नेछ, जसले हाम्रो कृषि निर्यातमा वृद्धि र व्यापार घाटा कम गर्नेछ। हामी आशावादी छौँ कि चीनले नेपाली कृषि-पशुपन्छीजन्य उत्पादन, आयुर्वेदिक तथा सुगन्धित बिरुवामा आधारित सामान, सौन्दर्य प्रसाधन (कस्मेटिकस्) र हस्तकलाका लागि आफ्नो विशाल बजार खुला गर्नेछ। हामी हाइड्रोजन ऊर्जाको विकासमा पनि चिनियाँ लगानीको अपेक्षा गरेका छौँ, जसले स्वच्छ ऊर्जा उत्पादन गर्न र कार्बन उत्सर्जन घटाउन दुवै देशलाई फाइदा पुग्छ।
हामी चिनियाँ बजारमा थाङ्का चित्रकला, गलैँचाहरू र अन्य ऊनी उत्पादनहरू जस्ता नेपाली कलाका विधाहरूका लागि थप व्यापारिक अवसरहरू खोजी गर्न उत्सुक छौँ।
प्राविधिक तथा व्यावसायिक शिक्षाको विकासका लागि चिनियाँ सहयोग निकै महत्त्वपूर्ण छ। चीन र नेपालको बिचमा शताब्दीयौँदेखिको जनता-जनता बिचको मैत्रीपूर्ण सम्बन्ध र सांस्कृतिक सहकार्य रहेको छ । आपसी विश्वास र सहकार्य चीन-नेपाल सम्बन्धका आधारभूत स्तम्भहरूको रूपमा रहेका छन्, जसले भविष्यमा पनि निरन्तरता पाउनेछन् ।
चीन र नेपालले हिमालय क्षेत्रमा जलवायु परिवर्तनको प्रभावसँग सम्बन्धित विषयहरूलाई सम्बोधन गर्न साझा प्रयास गर्नुपर्छ र दुवै देशलाई प्रभावित गर्ने विषयहरूलाई सम्बोधन गर्न चौतर्फी सीमापार सहकार्य अभिवृद्धि गर्नुपर्छ । नेपाल सरकार क्षेत्रीय शान्ति, समृद्धि र विकासका लागि चीनसँग सहकार्य गर्न तत्पर छ।
ग्लोबल टाइम्सः तपाईँले पहिलो पटक नेपालको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्दा तपाईंले भ्रमण गर्नुभएको पहिलो देश चीन थियो। अब तपाईँको तेस्रो कार्यकालमा, तपाईँको हालको चीन भ्रमणमा के कस्ता एजेन्डा समावेश छन्?
प्रचण्डः मैले चीनसँगको मैत्रीपूर्ण सम्बन्ध र सहकार्यको सुदृढीकरणलाई निरन्तर प्राथमिकतामा राखेको छु । हाम्रा दुई देशहरूले विभिन्न मामिलाहरूमा सक्रिय सहकार्य गरिरहेका छन् र कूटनीतिक माध्यमबाट सहयोग विस्तार गरिरहेका छन्।
चीनसँगका हाम्रा प्रमुख प्राथमिकताहरूमा यसअघि सहमत भएका एजेन्डा र समझदारीहरूको तत्काल र समयावधि तोकेरै कार्यान्वयन गर्ने कुरा समावेश छ। यहीबेला, हामी आर्थिक सहकार्यलाई थप अभिवृद्धि गर्न चाहन्छौँ । हाम्रो विशेष जोड नेपालमा थप चिनियाँ प्रत्यक्ष लगानी आकर्षित गर्ने, सीमापार हिमालयन सम्पर्क सञ्जाल (ट्रान्स हिमालय कनेक्टिभिटी नेटवर्क) लाई प्रवर्द्धन गर्ने, चीनमा नेपाली निर्यात बढाउने र नेपालको व्यापार घाटालाई सम्बोधन गर्ने हो।
ग्लोबल टाइम्सः नेपालको वर्तमान आर्थिक अवस्था मुद्रास्फीति झन्डै छ वर्षकै उच्च रहेकोले चुनौतीपूर्ण छ। विदेशी विनिमय सञ्चिति घट्दै गएको छ र आधारभूत वस्तुहरू बढ्दो रूपमा आयातमा निर्भर हुँदैगएका छन्। आर्थिक पुनर्जीवनका लागि तपाईँका आगामी कदमहरू के छन्? के यसमा बीआरआई परियोजनाजस्ता पहलहरूमार्फत चीनसँगको आर्थिक सहयोग सुदृढीकरण समावेश हुनेछ?
प्रचण्ड: नेपालले बेरोजगारी समस्यालाई सम्बोधन गर्न, उत्पादकत्व वृद्धि गर्न, निर्यातयोग्य वस्तु तथा सेवाको उत्पादन विस्तार गर्न, निर्यातका लागि नयाँ बजार खोज्न, मुद्रास्फीति नियन्त्रण गर्न र व्यापार सन्तुलन कायम गर्न तत्काल थप रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता छ । यी उद्देश्यहरू मेरा मुख्य प्राथमिकताका रूपमा रहेका छन्। यसका लागि हामीले योजनाकारहरू, अर्थशास्त्रीहरू, उद्योगीहरू, व्यावसायिक अगुवाहरू र विभिन्न सरोकारवालाहरूसँग यी चुनौतीहरूको उपयुक्त समाधान पहिचान गर्न सहकार्य गरिरहेका छौँ।
लगानीको अनुकूल वातावरण निर्माण गर्ने नीति र पहललाई प्राथमिकतामा राखेर पर्याप्त स्वदेशी पुँजी र प्रविधिको अभाव भएका क्षेत्रमा विदेशी लगानी आकर्षित गर्ने कुरामा जोड दिइएको छ। यो अवधारणा आर्थिक वृद्धि र विकासका लागि अनुकूल वातावरण सिर्जना गर्ने उद्देश्यमा लक्षित छ ।
चीनले आफ्नो समाजको सामाजिक-आर्थिक रूपान्तरणमा उल्लेखनीय उपलब्धिहरू प्रदर्शन गर्दै विश्वको दोस्रो ठुलो अर्थतन्त्र बन्न सफल भएको छ। उल्लेखनीय छ, चीनले नेपालको आर्थिक सहयोगको महत्त्वपूर्ण स्तम्भको रूपमा रहेको छ । सन् १९५५ मा नेपाल र चीन बिच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै चीनले नेपालको पूर्वाधार र विकास प्रयासमा सहयोग गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ। हाम्रो राष्ट्रको प्रगतिका लागि यीमध्ये धेरै परियोजनाहरूले ठुलो महत्त्व राख्दछन्।
चीनले जति प्रगति गर्दै गएको छ, नेपालमा उसको सहयोग र लगानी पनि निरन्तर बढिरहेको छ । नेपालले चीनको विकास मार्गलाई अवसरको रूपमा हेर्दछ,जसमा बिआरआईले हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल बढाउनका लागि उपयुक्त प्लेटफर्मको रूपमा मदत गर्नेछ । यो सम्पर्क सञ्जाल (कनेक्टिभिटी) ले एसियाका दुई ठुला अर्थतन्त्रहरू बिचको र चीन तथा दक्षिण एसिया बिचको जीवन्त पुलको रूपमा काम गर्दै नेपालका आर्थिक लक्ष्यहरू साकार पार्ने ठुलो सम्भावना छ। बिआरआईप्रति आपसी प्रतिबद्धतालाई सुदृढ गर्दै नेपाल र चीन बिच समझदारी पत्र (एमओयु) मा हस्ताक्षर भएको छ । यस सहकार्यको रूपरेखाबाट अधिकतम लाभ लिन हामी पूर्णरूपमा तयार छौँ।
वर्तमान सरकारले चिनियाँ लगानीलाई विशेष महत्त्व दिएको छ । हामी छलफलमा सहभागी हुन र चिनियाँ लगानीकर्ताहरूले सामना गर्नसक्ने कुनै पनि समस्या समाधान गर्न तयारी अवस्थामा छौँ।
ग्लोबल टाइम्सः हामी चीन-नेपाल रेलमार्ग परियोजनाको प्रगतिलाई नजिकबाट नियालिरहेका छौँ। तपाईँको कार्यकालमा यस परियोजनालाई अगाडि बढाउने चाहना छ ?
प्रचण्डः चीन-नेपाल रेलमार्गबारे नेपाली जनताको धेरै ठुलो अपेक्षा छ, र रेलमार्ग निर्माणको काम यथाशक्य छिटो सुरु होस् भन्ने चाहना छ । यसले पूर्णता पाएपछि, रेलमार्गले नेपाललाई भारी सामान ढुवानीको वैकल्पिक माध्यम उपलब्ध गराउने छ र नेपालको व्यापार विविधीकरणका प्रयासहरू र पारवहन विकल्पहरूको लागि निकै ठुलो महत्त्व राख्नेछ।
यस परियोजनासँग जोडिएको मुख्य चासो भनेको हामीले यसलाई कति चाँडो पूर्णता दिन सक्छौँ भन्ने हो। यो परियोजनाको निर्माणका लागि ठुलो परिमणमा साधनस्रोत चाहिन्छ, जुन नेपालले एक्लैले धान्न सक्दैन भन्ने कुरा तपाईँलाई थाहा हुनुपर्छ। यस्तो अवस्थामा हामीले बाह्य लगानीमा भर पर्नु बाहेक अर्को विकल्प छैन । परन्तु, यस परियोजनाको ऋणको आकार र त्यसका सर्तहरू नेपाली अर्थतन्त्रले धान्नसक्ने हुनुपर्छ भन्नेमा हाम्रो चासो छ । हाल सम्भाव्यता अध्ययन भइरहेको छ, र हामी आशा गर्छौं कि त्यसको प्रतिवेदन छिट्टै उपलब्ध हुनेछ। त्यसपछि, हामीले परियोजनाका लागि उपयुक्त लगानी जुटाउने विधिहरूबारे खोजी गर्नु आवश्यक हुनेछ । मेरो नेतृत्वमा, यो सरकारले अध्ययनलाई छिट्टै सम्पन्न गर्ने कुरालाई प्राथमिकतामा राखिएको छ र मेरो कार्यकालमा नै यो दूरदर्शी आयोजना निर्माणको थालनी गर्ने आशा राखेको छु ।
चीन–नेपाल रेलमार्ग एउटा चीर स्मरणीय आयोजना हो र यसलाई साकार भएको हेर्न नेपाली जनता आतुर छन् । यो परियोजना मेरो कार्यकालमा सुरु हुने कुराले त्यति महत्त्व राख्दैन, साँच्चो महत्त्व त नेपाल र चीनलाई रेलमार्ग प्रणालीमार्फत जोड्ने हाम्रो साझा सपनाले राख्छ ।
ग्लोबल टाइम्सः नेपालले भविष्यमा चीन र भारतसँगको आफ्नो सम्बन्धलाई कसरी सम्हाल्ने होला भन्ने धेरै मानिसहरूको चासो छ । यी दुई छिमेकीसँग नेपालको सम्बन्धलाई तपाईँले कसरी मार्गनिर्देशित गर्नुहुन्छ ?
प्रचण्डः चीन र भारत दुवैसँग नेपालको सम्बन्ध असल छिमेकी, शान्तिपूर्ण सहअस्तित्व र असंलग्न परराष्ट्र नीतिका सिद्धान्तहरूबाट निर्देशित छ । नेपालले चीन र भारतसँग स्वतन्त्र ढंगले सम्बन्ध राख्छ । एउटा छिमेकीसँगको हाम्रो सम्बन्ध अर्कोसँगको हाम्रो सम्बन्धले प्रभावित हुँदैन, न त हामी एकलाई अर्कोका विरुद्ध प्रयोग गर्न नै खोज्नेछौँ। दुवै छिमेकी घनिष्ट मित्र र महत्त्वपूर्ण विकास साझेदार हुन्। हामीले दुवै छिमेकीसँगको हाम्रो सम्बन्धलाई द्वीपक्षीय आधारमा निरन्तर विकास गर्नेछौँ । तीमध्ये कुनै एकसँग कुनै मतभेद उत्पन्न भएमा त्यस्ता विषयहरूलाई मैत्रीपूर्ण द्वीपक्षीय वार्ताको माध्यमबाट समाधान गरिनेछ ।
हाम्रा दुई घनिष्ट छिमेकीहरूसँगको हाम्रो सम्बन्ध अविछिन्न र स्पष्ट छ। हामी तिनीहरूसँग मैत्रीपूर्ण सम्बन्ध चाहन्छौँ र त्यति नै बेला, हामी हाम्रा दुई छिमेकीहरू बिच पनि मैत्रीपूर्ण र सहयोगी सम्बन्ध हेर्न चाहन्छौँ। उनीहरूको सौहार्दपूर्ण र सहयोगी सम्बन्धले नेपाललाई पनि सहयोग पुग्नेछ । व्यक्तिगत रूपमा, म हाम्रा दुई महत्त्वपूर्ण छिमेकीहरू बिचको घनिष्ट र सद्भावपूर्ण छिमेकी सम्बन्धलाई सुदृढ गर्ने कार्यमा सहयोग गर्न इच्छुक र प्रितबद्ध छु।
नेपालले चीन र भारत दुवैको हितलाई सम्मान गर्छ । हामी सबैको विजय हुने (विन-विन) सहकार्यको विधिको विकासमा जोड दिएका छौँ, जसले तीन वटै देशलाई फाइदा पुगोस् ।
ग्लोबल टाइम्सः हामी सबैलाई थाहा छ, तपाईँ समाजवादी हुनुहुन्छ। के तपाईँ २१ औँ शताब्दीको तेस्रो दशकमा पनि नेपालमा समाजवाद सान्दर्भिक छ भन्नेमा विश्वास गर्नुहुन्छ ? यदि छ भने, किन?
प्रचण्ड : नेपालको संविधानले नेपाललाई समाजवाद-उन्मुख राज्यको रूपमा परिभाषित गरेको छ । मेरो विचारमा नेपाललाई समाजवादी देशमा रूपान्तरण गर्न समाजवाद र अध्यक्ष माओका विचारहरू र शिक्षाहरू अझै सान्दर्भिक छन् ।
समाजवाद र माओको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले जनवादी गणतन्त्र चीनको स्थापना गर्यो। सीपीसीले चिनियाँ विशेषतासहितको समाजवादका लागि आफ्नो अद्वीतीय बाटो विकास गरेको छ।
त्यसैगरी नेपालले आफ्नो ऐतिहासिक-राजनीतिक विकास र वर्तमान भूराजनीतिक यथार्थ अनुकूल हुनेगरी समाजवाद-उन्मुख मुलुकका रूपमा आफ्नो बाटो आफै निर्धारण गर्नेछ । नेपालले चीनको समाजवाद र अध्यक्ष माओत्सेतुङको नक्कल गर्ने कुरा होइन । चीनको समाजवाद र माओका विचारहरूले हामीलाई उत्पीडित र आर्थिक रूपमा पिछडिएका वर्गका जनताको सामाजिक-आर्थिक अवस्था सुधार गर्न बहुमूल्य अन्तर्दृष्टि प्रदान गर्दछ ।
ग्लोबल टाइम्सः तपाईं दशकौँदेखि नेपाली राजनीतिमा सक्रिय अनुभवी राजनीतिज्ञ हुनुहुन्छ। अब पछाडि फर्केर हेर्दा, के तपाईँले पहिले क्रान्तिमा लडाइँ गर्दाका आफ्ना सपनाहरू र लक्ष्यहरू साकार भएको विश्वास गर्नुहुन्छ?
प्रचण्डः मैले हाम्रा सपनाहरू आंशिक रूपमा साकार भएका छन् भन्नुपर्छ । राजनीतिकरूपमा देशले शताब्दीऔँ पुरानो राजतन्त्रलाई ध्वस्त गरेको छ र गणतन्त्रमा रूपान्तरित भएको छ । हाम्रो “जनयुद्ध” बिना यो सम्भव हुने थिएन। अहिले संविधान र कानुनको दृष्टिमा सबै नागरिक समान छन् । देशले जीवनका सबै क्षेत्रका जनताको आधारभूत अधिकारको संरक्षण गर्ने समावेशी नीति अवलम्बन गरेको छ । संसद् र अन्य संवैधानिक निकायजस्ता उच्च तहदेखि लिएर वडा समितिजस्तो तल्लो तहको राजनीतिक प्रतिनिधित्वहरू, सरकारी निकायदेखि सहकारीसम्म, सरकारी जागिरदेखि कलेजमा विद्यार्थीको भर्नासम्ममा सीमान्तकृत वर्गका जनता जस्तै महिला, आर्थिक रूपमा गरिब र विपन्न वर्गका लागि निश्चित आरक्षण सुनिश्चित गरिएको छ । यो उल्लेखनीय उपलब्धि २०७२ सालमा जारी गरिएको संविधानमार्फत संस्थागत भएको छ।
विभिन्न क्षेत्रमा उपलब्धिहरू हासिल हुनुको बाबजुद पनि, आर्थिक क्षेत्रमा धेरै गर्न बाँकी रहेको कुरालाई मैले स्वीकार गर्नुपर्छ । आर्थिक, प्राविधिक र शैक्षिक प्रगतिहरूले देखिने गरी परिणाम दिन अलि लामो समय लिन्छन्। यी क्षेत्रहरूमा प्रगति हासिल गर्न, हामीलाई अविछिन्न, दीर्घकालीन प्रयासहरू र सबैभन्दा महत्त्वपूर्ण रूपमा राष्ट्रिय सहमति चाहिन्छ। हामीले विपक्षी दलहरू र वर्तमान राजनीतिक व्यवस्थासँग असहमति जाहेर गर्नेहरूसहित सबै नेपाली सरोकारवालाहरूसँग घनीभूत परामर्श र सहकार्य गर्दै दीर्घकालीन विकास लक्ष्य हासिल गर्नका लागि हाम्रो रणनीति र नीति निर्माण गर्ने प्रयत्न गरिरहेका छौँ ।
(प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको क्रममा लिइएको यस अन्तर्वार्वालाई ग्लोबल टाइम्ससँगको सहकार्यमा पुनः प्रकाशन गरिएको छ । अन्तर्वार्ताको शीर्षक भने हामीले दिएका हौँ । अनुवादः नहेन्द्र खड्का)
लेफ्ट रिभ्यु अनलाइन