काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शताब्दियौँदेखि प्रचलनमा रहेको कुमारी इन्द्रजात्राजस्ता मौलिक पर्वले नेपाली प्राचीन सभ्यता अनि संस्कृतिको जगेर्ना गर्न थप मद्दत पुग्ने विश्वास लिएका छन् ।
“पर्याप्त वर्षाका कारण राम्रो अन्नबाली फलेकामा वर्षाका देवता इन्द्रप्रति कृतज्ञता प्रकट गर्दै मनाइने यस पर्वले प्रकृति र मानवबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गरेको छ”, उनले भनेका छन् । मूलतः काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, दोलखालगायतका जिल्लामा मनाइने कुमारी इन्द्रजात्राजस्ता सांस्कृतिक तथा ऐतिहासिक पर्वले हाम्रो विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीका बीचमा परस्पर विश्वास, सद्भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने राष्ट्रपति पौडेलको अपेक्षा छ ।