काठमाडौँ / राजधानीको सभागृहअगाडि १९९ घन्टादेखि उभिएर फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थािन गर्नुपर्ने माग राखेर आन्दोलन गरिरहेका ‘ई:’ र काठमाडौँ महानगरपालिकाबीच अन्तत: सहमति भएको छ।
बुधबार अबेर काठमाडौँ महानगरपालिका र ई: बीच चारबुँदे सहमति भएको हो। यस सहमतिअनुसार फुटपाथ र सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीलाई विकल्प दिन महानगरले एक साताभित्र पहल गर्नेछ।
त्यस्तै, सार्वजनिक स्थलमा व्यवसाय गर्ने क्रममा जफत गरिएका सामान महानगरका स्टोरमा भए सम्बन्धित धनीलाई फिर्ता दिने सहमति पनि भएको छ।
त्यस्तै, अनौपचारिक क्षेत्रमार्फत हुने व्यापार व्यवसायलाई व्यवस्थित गर्न व्यापार गर्ने स्थल, समय, व्यापार गर्न आवश्यक मानिने व्यक्ति यकिन गर्न र स्थल उपलब्ध गराउने विधि, प्रक्रिया र कानुनी व्यवस्थाको प्रबन्ध गर्नुपर्ने विषयमा ठोस सुझाव दिने गरी अध्ययन समिति बनाउने सहमति पनि भएको छ।
उक्त समितिमा महानगरपालिकाले तोकेका तीन, अभियानकर्ता ई:का तर्फबाट दुई प्रतिनिधि, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय र ट्राफिक प्रहरीबाट एक/एक जना प्रतिनिधि रहने छन्।