काठमाडौँ / पूर्वप्रधानमन्त्री झलनाथ खनालले सर्प प्रकरणमा आफ्नो नाम मुछेर आलोचना गर्ने गरेको भन्दै आपत्ति जनाएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा एकीकृत समाजवादीका सम्मानित नेतासमेत रहेका खनालले उक्त कुरा बताएका हुन् ।
आफू सर्लाही जाँदा सर्पको टोकाइका कारण मृत्युवरण गर्नुपरेको घटना देखेकाले सर्पदंशका बिरामीलाई देशमै उपचार हुनुपर्ने र औषधि बन्नुपर्ने माग सम्बोधन गर्नका लागि आवाज उठाएको खनालको प्रष्टिकरण थियो । आफ्नो नाममा आफूले नचाहँदा नचाहँदै पनि नाम राखेको र त्यसबाट के–के गरे भन्नेबारे आफू अनभिज्ञ रहेको उनले बताए ।
सर्प पालनका लागि आफूले कुनै लगानी नगरेको खनालको भनाइ थियो । उक्त घटनामा अख्तियारले पनि आफ्नो नाम मुछेको भन्दै उनले असन्तुष्टि जनाए । ‘मलाई शंका लाग्दा लाग्दै पनि ल ठिक छ राख्नुस् भनेर मेरो नाममा राख्नुभयो नाम । मेरो नाम राख्नुभयो । त्यो नाम राखेर उहाँहरूले के के गर्नुभयो ? म त राजनीतिक मान्छे, म राजनीतिलाई पेशा, व्यवसाय, कमाउ, धमाउ मान्दिन । कतिपयले त्यसो गर्ने गर्छन्, ति अपराधी हुन् । राजनीति भनेको जनसेवाको कदम हो । जनसेवाको लागि कसैले पनि राजनीति गर्छ भने जनता र देशको सेवाका लागि गर्नुपर्छ,’ खनालले भने, ‘राजनीतिलाई अरु कुनै बनाउने हो भने त व्यापार गरे भइगयो नि । उद्योग खोलेर बसे हुन्छ । त्यो क्षेत्रमा मैले जो नाम दिएँ, ठिक गरेँ कि गरिनँ भन्ने थियो पछि त विवाद सुरु भयो । यहाँ त ७३ करोड पैसा ल्याइयो । ७३ करोड पैसा ल्याएर झलनाथले सर्प पाल्दैछ भन्छन्, उक खाले मान्छेहरू कमेन्टमा सर्प लेखेर बस्छन्, तिनीहरूको पेसा नै त्यही जस्तो लाग्छ ।’
खनालको थप प्रष्टिकरण थियो, ‘त्यसमा मेरो न कुनै लगानी छ, न कुनै अरु पेशा व्यवसाय छ । मेरो विशुद्ध यो देशमै औषधि बनोस् भन्ने इच्छा हो, अहिले विवादग्रस्त भएछ । अख्तियारमा समेत पुगेछ । म सर्प पाल्दिन, भैँसी, बाख्रा पाल्न छोडेँ ।’