कास्की । पोखरामा रहेको मणिपाल शिक्षण अस्पताल सोमबार दिनभरिजसो तनावग्रस्त बनेको छ। साँझपख ठूलो हुल आएर अस्पतालका संरचनामा तोडफोड गर्नुका साथै चिकित्सकहरुमाथि आक्रमण पनि गरेको छ।
अस्पतालमा आइतबार बिहान उपचारका लागि पुगेकी लमजुङ सुन्दरबजारकी ५७ वर्षीया सुकमाया दुराको सोमबार दिउँसो मृत्यु भएपछि उनका सुरुमा आफन्त र पछि ठूलो हुल आएर चिकित्सकहरुमाथि आक्रमण गरेको हो।
भेन्टिलेटरमा उनको मृत्यु भएपछि बिरामीका आफन्तले उपचारका प्रक्रियामा रहेका डा. अनिल शाहमाथि आक्रमण गरेका थिए।
चिकित्सकले मृतक दुराका आफन्तलाई थुनेपछि अस्पतालबाहिर जम्मा भएका आफन्तलगायतको ठूलो हुलले चिकित्सकहरुमाथि आक्रमण गर्नुका साथै अस्पतालका संरचनामाथि समेत आक्रमण गरेको थियो। त्यसपछि प्रहरी आएर हस्तक्षेप गरेपछि ठूलो क्षति हुनबाट जोगिएको हो।
दुराको निधनपछि अस्पताल प्रशासन र बिरामीका आफन्तबीच कुनै सहमति हुन सकेको छैन भने चिकित्सकहरुले आन्दोलन जारी राख्ने बताएका छन्।
चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाहीको माग राख्दै मंगलबारदेखि अस्पतालको आकस्मिक, आइसियु, ओपिडी र वार्डबाहेक अरु सेवा बन्द गर्ने चिकित्सकहरुले बताएका छन्। उता मृतकका आफन्तले पनि आान्दोलन जारी राख्ने बतएका छन्।
अस्पतालमा डाक्टरमाथि आक्रमण गरेको आरोपमा प्रहरीले ३४ वर्षीय विनय गुरूङलाई हिरासतमा लिएको छ।