काठमाडौँ / सर्लाहीको मलंगवा नगरपालिकामा मूर्ति सेलाउने क्रममा उत्पन्न द्वन्द्वले धार्मिक सहिष्णुता खलबलाउने प्रयास भएको भन्दै मुस्लिम आयोगले सरकारको ध्यानाकर्षण गराएको छ।
मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आइतबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर मलंगवा घटनाका सन्दर्भमा ध्यानाकर्षण गराएका हुन्।
उनले मलगंवासहित मधेश प्रदेशका केही जिल्लाहरुमा केही अराजक तत्वहरुले धार्मिक सहिष्णुता खलबलाउने प्रयास गरिरहेको भन्दै दोषीलाई कडा कारबाहीको माग गरे।
उनले कर्फ्यूको बाबजुत पनि मुस्लिम समुदायको घरघरमा लुट्ने, चेलिबेटीलाई दुर्व्यवहार गर्ने कार्य भइरहेको भन्दै दोषीलाई हदैसम्मको कारबाही गर्न गृह मन्त्रीलाई आग्रह गरे।
अन्सारीले मुस्लिम समुदाय सदैव शान्ति, समृद्धि र देशको उन्नती प्रगतिको पक्षमा रहेको बताए।