काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं महानगरपालिकाले सामाजिक अभियन्ता ईःसँग शीघ्र संवाद गर्नुपर्ने बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत यस्ताे जनाएका हुन्। ईःलगायतका अभियन्ताहरू राष्ट्रिय सभागृह बाहिर उभिएर फुटपाथ व्यवसायीकाे उचित व्यवस्थापन गर्नुपर्ने जनाउँदै काठमाडौं महानगरको ध्यानाकर्षण गराइरहेका छन्।
साेही विषयलाई लिएर महामन्त्री थापाले शीघ्र संवाद गर्नपर्ने जनाएका हुन्। उनले आफूले महानगर प्रमुख बालेन्द्र शाह (बालेन)सँग भेटेर कुराकानी गर्नसमेत काेसिस गरिरहेकाे पनि उल्लेख गरेका छन्। महामन्त्री थापाले फेसबुकमा लेखेका छन्, ‘लोकतन्त्रमा आन्दोलनरत सबैका आवाज सुन्नुपर्छ। शान्तिपूर्ण रूपमा उठाइएका विषयलाई त अझ महत्त्वका साथ सुन्नुपर्छ। ईःलगायत साथीहरूले उठाएको मूलतः फुटपाथ व्यवसायीको विस्थापन होइन, उचित व्यवस्थापन हुनुपर्छ भन्ने मागका विषयमा सहरको अन्य आवागमनलाई असर नपर्ने गरी व्यवस्थापन गर्न सकिने ठाउँहरू छन्।
सँगै बसेर कुरा गरेपछि, एकार्काको मत, दृष्टिकोण सुनेपछि, बुझेपछि एउटा उपाय अवश्य निस्कन्छ । तसर्थ मेरो आग्रह छ- सरकारसँग जवाफदेहिता खोजिरहनुभएका अभियन्ता साथीहरू र महानगरबीच शीघ्र संवादको वातावरण बनोस्।’ ई: लगायतका अभियन्त्राहरू राष्ट्रिय सभागृह बाहिर बसेकाे ६ दिन बितिसकेकाे छ ।