लण्डन । राजतन्त्रविरोधी अभियन्ताहरूले शनिबार बेलायतको बकिङह्याम दरबारभित्र प्रदर्शन गरेका छन् । उनीहरूले यसलाई दरबारभित्रै गरिएको पहिलो प्रदर्शन बताएका छन् ।
बेलायतको सबैभन्दा ठुलो राजतन्त्रविरोधी समूह ‘रिपब्लिक’ ले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘बेलायतका विभिन्न भागबाट आएका अभियन्ताहरूको एक समूह पर्यटकका रूपमा प्रवेश गरेका थिए । उनीहरूले ग्रान्ड हलमा उभिएर प्रदर्शन गरेका छन् ।’
समूहले एक तस्बिर सार्वजनिक गरेको छ जसमा प्रदर्शनकारीहरू दरबारभित्र ‘नट माई किङ’ (मेरो राजा होइन) लेखेको टी–सर्ट लगाएर उभिएको देखिएको छ ।
राजतन्त्रको भविष्यबारेको बहस अघि बढाउन चालिएका शृङ्खलाबद्ध कदमको यो एक हिस्सा भएको रिपब्लिकले बताएको छ ।
प्रदर्शन सुरु गरेको लगत्तै समूहका ६ जनालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको थियो । केही समयपछि उनीहरूलाई गेटबाट बाहिर लगिएको थियो । यता, बकिङह्याम दरबारले भने सुरक्षाको विषयमा आफूहरूले कुनै प्रतिक्रिया नदिने बताएको छ ।
यो समूहले यो वर्षको सुरुवातमा राजा चार्ल्सको राज्याभिषेकका दौरान पनि प्रदर्शन गरेको थियो । अब अर्को प्रदर्शन संसद् भवन अघि गर्ने उनीहरूको तयारी रहेको छ । –सीएनएन