काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक स्थायित्व र सुशासन कायम गरी विभिन्न जात-जाति, क्षेत्र, वर्ग लिङ्गका समस्या समाधानतर्फ सबैकाे ध्यान केन्द्रित हुनुपर्ने बताएका छन्। राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन बुझ्दै राजनीतिलाई स्थायित्व दिएर सुशासन कायम गर्न सके सबैका समस्या समाधान हुने बताए।
अति पिछडिएको र विकट क्षेत्रमा सचेतना अभियान सञ्चालन गरे समाजका देखिएका विकृति विसंगति हटाउन सहज हुने पनि उनको धारणा थियो। राष्ट्रपति पौडेलले नेपालमा दलितहरू बस्तीका कारण पनि पीडित बनेको बताए।
राष्ट्रपति पौडेलले नेपालको संविधान अनुसार गठन भएका सबै संवैधानिक आयोगले आफ्नो वर्गको उत्थानका लागि लाग्न जरुरी रहेको धारणा राखे।
दलित अयोगका अध्यक्ष देवराज विश्वकर्माले आयोगको वार्षिक प्रतिवेदनमा ८ परिच्छेद र ११ वटा अनुसुची रहेको बताए। उनले दलित आयोगले २२ वर्षपछि फेरि दलितको जात र थरको नयाँ सूचीकरण गरेको पनि जानकारी दिए।