काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विधेयकमा संशोधन हाल्न सुरु भएपछि आफूले पनि ७० भन्दा बढी ठाउँमा संशोधन हाल्नुपर्ने अवस्था देखेको बताएका हुन् । उनले विद्यालय शिक्षा विधेयकमा धेरै त्रुटि रहेको भन्दै संसदबाट सच्याएर मात्रै पारित हुने बताए । उनले अहिले बनाउने कानुनले आजको समस्या मात्र नभई कम्तीमा २० वर्षसम्म हेर्न सक्ने गरेर कानुन बन्नु पर्ने बताए ।
सांसद थापाले नेपालको शिक्षा क्षेत्र सुधार गर्न नेपालमा सबैभन्दा धेरै पारिश्रमिक शिक्षण पेसामा हुनेहरूले पाउनुपर्ने बताए । उनले शिक्षकले प्राप्त गर्नुपर्ने न्युनतम कुरा अहिले कानुन बन्दै गर्दा पनि दिन नसके विद्यालयलाई शिक्षालाई उकास्न नसकिने बताए ।
सरकारले चाँडोभन्दा चाँडो शिक्षकका माग पूरा गरेर विद्यार्थीले पढ्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने बताए । महामन्त्री थापाले सरकार शिक्षकबीचको वार्ताले सकारात्मक रूप लिने विश्वास लिएको बताए ।