काठमाडौँ- प्रस्तावित शिक्षा विधेयकप्रति काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले पनि आपत्ति जनाएका छन्। तर उनले स्कुल बन्द गरेर पठनपाठनमा अवरोध नपुर्याउन पनि शिक्षकहरुलाई आग्रह गरेका छन्।
उनले आधारभूत तथा माध्यमिक शिक्षा स्थानीय सरकारको एकल अधिकारका रुपमा रहेकाले विद्यालय शिक्षा ऐन बनाउने अधिकार पनि स्थानीय सरकारमा निहीत रहेको बताए।
उनले सामाजिक सञ्जालमा लेखेका छन्- ‘शिक्षा विधेयकमा हाम्रो पनि असहमति छ। लगभग २ लाख ५० हजार हजार विद्यार्थी तथा १० हजारभन्दा धेरै शिक्षक हाम्रो मातहतमा छ।’
उनले काठमाडौँ र जुम्लाको नीति र आवश्यकता फरक रहेको उल्लेख गर्दै लेखेका छन्- ‘संघीय तहले प्रस्तुत गर्नुपर्ने विधेयक संघीय संसद्मा दर्ता गर्नु नै संविधानको बर्खिलाप हो। संघीय सरकारले संघीय शिक्षा ऐन तर्जुमा गरी राष्ट्रिय शिक्षा नीति तथा मापदण्ड बनाउनुको साटो विद्यालय शिक्षा विधेयक ल्याउनु संवैधानिक प्रावधान विपरीत रहेकोले किमार्थ स्वीकार गर्न सकिँदैन । स्थानीय सरकारले प्रयोग गरिरहेको माध्यमिक शिक्षासम्मको विधायिकी र कार्यकारी अभ्यासबारे सम्मानित अदालतका फैसलाहरूबाट समेत नजिर स्थापित भइसकेको स्मरण गराउन चाहन्छौँ।’
मेयर बालेन शाहले स्कुलको पठनपाठन बन्द गरेर अवरोध पुर्याउने शिक्षकहरुलाई कानुनअनुसार कारबाही हुने पनि बताएका छन्।
प्रस्तावित शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षकहरु बुधबार राजधानीमा र्यालीमा सहभागी हुँदा माइतीघरदेखि बानेश्वरसम्म केही घन्टासम्म ठप्प भएको थियो।